शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओली मंसिर १७ मा चीन जाने, राष्ट्रपति सीसँग भेट्ने

प्रधानमन्त्री ओली मंसिर १७ मा चीन जाने, राष्ट्रपति सीसँग भेट्ने

  • मङ्लबार, कार्तिक १३, २०८१
प्रधानमन्त्री ओली मंसिर १७ मा चीन जाने, राष्ट्रपति सीसँग भेट्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर) गते सोमबार चीनको राजधानी बेइजिङ जाने उच्च स्रोतले बताएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, मंसिर १७ देखि २० सम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको छ। पछिल्लो पटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो। सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए।

नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टीका उच्च अधिकारीहरूसँग आफ्नो चीन भ्रमणका बारेमा अनौपचारिक छलफल गरेका थिए। एमाले उच्च अधिकारीहरूले चीन भ्रमण गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए।

चिनियाँ विदेश मन्त्री यी राष्ट्र संघको महासभाबाट बेइजिङ फर्किएपछि राष्ट्रपति सीसँग ओलीको भ्रमणबारे छलफल गरेका थिए। त्यसलगत्तै बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई प्रधानमन्त्री ओलीको भ्रमणबारे औपचारिक पत्र पठाएको थियो। दसैं अगावै नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणबारे राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने तयारीमा छिन्। प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्रीज्यू चीन जानेबारे छलफल भइरहेको छ। प्रधानमन्त्रीसँगको आवश्यक छलफल र समन्वयमा परराष्ट्रमन्त्री चीन जानुहुने छ।’

प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार परराष्ट्रमन्त्री राणाले यहीँ बसेर प्रधानमन्त्रीको चीन भ्रमणको समन्वय गरिरहेको र आवश्यक परे प्रधानमन्त्री जानुअघि बेइजिङ जाने तयारी गरिरहेकी छन्।

नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले ओलीसँग भेट गरेका थिए । बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटका राजदूत सोङले त्यहीबेला चीन भ्रमणबारे अनौपचारिक छलफल गरेका थिए।

चिनियाँ राजदूत सोङले बेइजिङस्थित विदेश मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा चले पनि अहिलेसम्म औ‍पचारिक निर्णय भएको छैन। यद्यपि, राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका बेला त्यहीँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग केहीबेर ओलीले भेट गरेका थिए। त्यसअघि प्रधानमन्त्री ओली विमस्टेकको बैठकमा भाग लिन बैंकक जाने तयारी गरेका थिए। तर, आयोजक राष्ट्र थाइल्याण्डले बैठक स्थगित गरेपछि प्रधानमन्त्री ओलीको बैंकक भ्रमण पनि स्थगित भएको थियो।

चर्चामा

सम्बन्धित समाचार