सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • राजनीति
  • दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ओली

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ओली

  • सोमवार, कार्तिक ५, २०८१
दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि ओलीले अध्यादेश ल्याउने तयारी गरेका हुन् ।

आइतबार राति अबेरसम्म भएको छलफलमा ओलीले विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने विषयमा देउवाको साथ खोजेका थिए । तर, ओलीको प्रस्तावका देउवा मौन रहेको बुझिएको छ ।

उक्त बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल, अर्थमन्त्री समेत रहेका विष्णु पौडेल लगायत शीर्ष नेताहरूसमेत सहभागी थिए । यस्तै कांग्रेसबाट सभापति देउवासहित गृहमन्त्री समेत रहेका रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू सहभागी थिए । एमालेको सचिवालय बैठकबाट ओलीले अध्यादेश ल्याउनका लागि म्यान्डेट पाएसँगै देउवासँग छलफल गरेको बताइएको छ ।

‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्री ओली र देउवाजीबिच छलफल भएको हो । ल्याउने वा नल्याउने विषयमा ओलीजीलाई कुनै स्वीकृति दिइएको छैन’, स्रोतले भन्यो ।

यद्यपि ओलीले निकटस्थसँग सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने बताएका छन् ।

ओलीले २० प्रतिशत केन्द्रीय समिति सदस्य वा संसदीय दलको सदस्य सङ्ख्या पुगेमा दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउन ड्राफ्ट तयार गरेको बुझिएको छ ।

यसैबिच ओलीले जसरी पनि अध्यादेश ल्याउने तयारी गरेपछि कांग्रेस महामन्त्री गगन थापाले सभापति देउवासँग चासो व्यक्त गरेका छन् । देउवा र थापाबिच भेटवार्ता भएको ठाउँ गोप्य राखिएको छ ।

यहीबीचमा कांग्रेस नेता शेखर कोइरालाले भने अध्यादेशको विरोध गरेका छन् । कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउँदा मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नहुने प्रतिक्रिया दिएका छन्।

कांग्रेसकै अर्का एक नेताले भने देउवासँग ओलीले अध्यादेश ल्याउने भनेर स्पष्ट सन्देश आइतबार रातिको बैठकमा दिएको ब्रिफिङ भएको जानकारी दिए । ती नेताका अनुसार देउवाले यसबारे ठोस नदिएपनि विरोध भने गरेका थिएनन् ।

चर्चामा

सम्बन्धित समाचार