• होमपेज
  • जगन्नाथ
  • बाजुराका ४ गाउँपालिकामा सरुवा भएका कार्यकारीको सम्बन्धित ठाउँ नपुग्दै सरुवा

बाजुराका ४ गाउँपालिकामा सरुवा भएका कार्यकारीको सम्बन्धित ठाउँ नपुग्दै सरुवा

  • सोमवार, अशोज १४, २०८१
बाजुराका ४ गाउँपालिकामा सरुवा भएका कार्यकारीको सम्बन्धित ठाउँ नपुग्दै सरुवा

बाजुरा– संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ भदौ २७ गते बाजुराका ४ वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाएको थियो । मन्त्रालयले गौमुलमा शाखा अधिकृत सिमरन शाह, जगन्नाथमा सिर्जना क्षेत्री, हिमालीमा अनिसा आचार्य र स्वामिकार्तिक खापर गाउँपालिकामा पुनम जिसीलाई खटाएको थियो । गाउँपालिकामा नयाँ प्रशासकिय अधिकृतका रुपमा सुरुवा भएका चारै जनाको बाजुरा नपुग्दै सरुवा भएको छ ।
मन्त्रालयले असोज २ गते एक सूचना जारी गर्दै गौमुल गाउँपालिकामा सरुवा भएका सिमरन शाहलाई गृह मन्त्रालयमा सरुवा गरेको जनाएको छ । त्यस्तै हिमाली गाउँपालिकामा सरुवा भएकी अनिशा आचार्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजका रुपमा खटाएको छ ।
त्यसै गरी मन्त्रालयले जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा सरुवा भएका पुनम जिसीलाई जिल्ला समन्वय समिति कार्यालय कपिलवस्तुमा सरुवा गरेको छ । जगन्नाथ गाउँपालिकाको कार्यालयका अनुसार प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा भएकी सिर्जना क्षेत्रीलाई मोरङको एक स्थानीय तहमा सरुवा भएको जनाएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगरपालिकामा रिक्त तथा पालिकामा सेवा प्रवाहमा सहजतासँगै सुशासनमा सुधार हुने अपेक्षा सहित प्रमुख प्रशासकिय अधिकृत खटाउने गरेको छ । तर सधैं निमित्तकै भरमा चलेका बाजुरा जिल्लाका स्थानीय तहहरुमा मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत खटाएपनि जिल्लामा नपुग्दै अन्तै सरुवा भएर जाने परम्परा रहदैँ आएको छ ।
जिल्ला समन्वय समिति बाजुराका निमित्त कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बाजुरामा विकासका पूर्वाधार निर्माणको गति सुस्त, सेवा सुविधा र भौगोलिक विकटताले बाहिरका कर्मचारी नबस्ने गरेको बताएका छन् । बाजुरा एक दुर्गम त्यसैमा विकास निर्माणको हिसावले पछाडि रहने कारणले बाहिरका कर्मचारी बस्न हिचकिचाउने र हामीसँग आफ्नै कर्मचारी नहुनु झन ठुलो समस्या भएको कार्यालय प्रमुख पाण्डेको बुझाई छ ।

चर्चामा

सम्बन्धित समाचार