• होमपेज
  • बडिमालिका
  • बाजुरामा आत्महत्या भयावह बन्दै, रोकथाम गर्न सबैले जिम्मेवार बन्नुपर्ने सरोकारवालाकाे जोड

बाजुरामा आत्महत्या भयावह बन्दै, रोकथाम गर्न सबैले जिम्मेवार बन्नुपर्ने सरोकारवालाकाे जोड

  • शनिबार, भदौ २९, २०८१
बाजुरामा आत्महत्या भयावह बन्दै, रोकथाम गर्न सबैले जिम्मेवार बन्नुपर्ने सरोकारवालाकाे जोड

बाजुरा– बाजुरा जिल्लामा आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । जिल्लामा विगत दुई बर्षको मात्रै तथ्यांक हेर्दा जिल्लाका नौ वटा स्थानीय तह मध्ये खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा सबैभन्दा बढी र स्वामिकार्तिक खापर गाउँपालिकामा सबै भन्दा कम आत्महत्याका घटनाका भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार जिल्लामा विगत तीन आर्थिक बर्ष २०७९।७९ मा ९, ०७९।८० मा २३, ०८०।८१ मा २० र चालु आर्थिक बर्षको भाद्र २६ सम्म ४ जनाले आत्महत्या गरेका छन् । जिल्लामा आर्थिक बर्ष २०७८।७९ देखि ०८०।८१ सम्ममा सबैभन्दा बढी खप्तड छेडेदहमा १६ र सबैभन्दा कम स्वामिकार्तिक खापर गाउँपालिकामा १ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

त्यस्तै बडिमालिकामा ११, त्रिवेणीमा ७, गौमुल गाउँपालिकामा ६, बुढीगंगामा ५, बुढीनन्दामा ५, हिमालीमा ३, जगन्नाथमा २ जनाले आत्महत्या गरेको देखिन्छ । जिल्लामा आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ भने सबैभन्दा बढी ६४ प्रतिशत १६ देखि ६० बर्ष, २७ प्रतिशत ६० माथि र सबैभन्दा कम ९ प्रतिशत १६ बर्षमुनिका व्यक्ति छन् ।

जिल्लामा आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै यसको न्युनिकरणमा थप जिम्मेवार भएर लाग्नुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । शुक्रवार जिल्ला प्रहरी कार्यालय बाजुरा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्ता घटना न्युनिकरणमा जिम्मेवार भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले आत्महत्याका घटना न्युनिकरण गर्न विभिन्न संघ संस्था तथा सरोकारवालासँग समन्वय गर्दै हरेक व्यक्तिले आफैं जिम्मेवार भएर लाग्नुपर्ने बताएकी छन् । यस कार्यमा नगरपालिका पनि लागि रहेको भन्दै सबैले सामाजिक अभियानका रुपमा लाग्नुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले आत्महत्याका घटना रोकथामका लागि समिति गठन मात्रै नभई सबैले आ-आफ्नो तर्फबाट लाग्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान समिति समेत गठन गरिएको छ ।

आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापा, प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरी, शिक्षा विकास तथा समन्वय समिति प्रमुख हर्क बहादुर सिंह, उद्योग वाणिज्य संघ बाजुरा, पिसविन, नेपाल स्काउट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, प्रहरी पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रस्तुति जिल्ला प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार