सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताएका छन् ।
‘सहुलियत पसल सञ्चालन गर्ने विषयमा मातहतका निकायसँग छलफल भइरहेको छ । असोज ७ गतेभन्दा पछाडि जाँदैन,’ सचिव बुर्लाकोटीले भने, कुन वस्तुमा के–कति छुट गर्ने विषयमा पनि छलफल गरिरहेका छौँ ।’
सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुन्छ ।
चाडपर्वलक्षित पसलहरू सञ्चालनका लागि खाद्य तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध संस्थान (डीडीसी) सँग छलफल भइरहेको वाणिज्य सचिव बुर्लाकोटीको बताए । उनका अनुसार यस वर्ष सहुलियत पसलको संख्या गत वर्षको तुलनामा बढी हुनेछन् ।
‘अहिले गत वर्षको भन्दा संख्या बढ्छ । स्थानीय सरकारसँगको समन्वयमा काठमाडौँ उपत्यकाभित्र पसलहरूको संख्या थप्ने तयारी पनि छ,’ सचिव बुर्लाकोटीले भने, ‘स्थान पाएसम्म यो वर्ष सहुलियत पसल थप गर्नेछौँ ।’ यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले गत वर्षकै हाराहारीमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी भइरहेको बताइन् ।