• होमपेज
  • राजनीति
  • कर्मचारीहरूलाई प्रधानमन्त्रीले भने : ‘भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस्, प्रयोग नहुनुस्’

कर्मचारीहरूलाई प्रधानमन्त्रीले भने : ‘भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस्, प्रयोग नहुनुस्’

  • शनिबार, भदौ २२, २०८१
कर्मचारीहरूलाई प्रधानमन्त्रीले भने : ‘भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस्, प्रयोग नहुनुस्’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

२१ औँ निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

‘तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस् । भाषणमा एउटा र व्यवहारमा अर्काे काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनुुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘म चुनौती दिएर भन्छुु– म आफूू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि त्यसो गर्न दिन्नँ । नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरुको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताए । उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार