• होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुरामा आइपुग्यो औषधी

जिल्ला अस्पताल बाजुरामा आइपुग्यो औषधी

  • बिहिबार, भदौ २०, २०८१
जिल्ला अस्पताल बाजुरामा आइपुग्यो औषधी

टेक बहादुर बुढा —जिल्ला अस्पताल बाजुरामा औषधी आइपुगेको छ । महिनाैदेखि जिल्ला अस्पतालमा पारा सिटामोल झोल सहित २९ प्रकारका औषधि अभाव भएको भन्दै बडिमालिका खबर सहित विभिन्न संचार माध्यममा समाचार प्रकाशनपछि अस्पतालमा पर्याप्त औषधि पुगेको हो ।

जिल्ला अस्पतालमा अधिकांश औषधी अभाव भएको जानकारी पछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक सय ११ प्रकारका औषधि सहित सर्जिकल सामग्रीहरु पठाएको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । प्रदेशबाट बजेट सुनिश्चितता भए पश्चात भुक्तानी हुने गरी मन्त्रालयबाट कम्तिमा तीन महिनासम्मका लागि औषधी पुगेको सुचना अधिकारी गिरीले बताए । त्यस्तै अस्पतालमा अभाव भएका र हुन लागेका औषधिहरु पारा सिटामोल झोल, सिटीजेट, मेट्ट्रोन सहित सर्जिकल सामग्री आइपुगेको सूचना अधिकारी गिरीले बताएका छन् ।

प्रदेशमा बजेट शून्यताको अवस्थाले औषधि खरिद गर्न समस्या भएपनि अहिले मन्त्रालयबाट करिब तीन महिनाका लागि औषधि पुगेकाले तत्काल सेवा प्रवाहमा समस्या नहुने अस्पतलाले जनाएको छ । जिल्ला अस्पतालमा औषधि खरिदका लागि पर्याप्त बजेट व्यवस्थापन नगर्दा अस्पतालले सधैका बर्ष औषधिको समस्या झेल्दै आएको छ ।

नयाँ आर्थिक बर्षको दुई महिना बितिसक्दा समेत प्रदेशबाट बजेट पारित हुन नसक्दा जिल्ला अस्पताल सहित प्रदेश अन्तर्गतका सरकारी कार्यालयमा सेवा प्रवाह प्रभावित भएको छ ।

गत बर्षबाट जिल्ला अस्पतालले सुविधा सम्पन्न नवनिर्मित नयाँ भवनबाट सेवा सुरु गरेपछि अस्पतालमा पहिलेको तुलनामा अहिले दोब्बरको संख्याले बिरामीको संख्या बढेको छ । जिल्ला अस्पतालमा बाजुरा सहित छिमेकी हुम्ला, जुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाबाट दैनिक डेढ सयको संख्यामा बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार