धनगढी— गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गरिने बताएका छन्। लेखकले आधारभूत विषयमा कुनै खालको प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने बताएका हुन् ।
मंगलबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री लेखकले अहिलेसम्मको अभ्यासका क्रममा देखिएका सरलता र जटिलताको समीक्षा गरेर मात्र सरकार संविधान संशोधनको बाटोमा अघि बढ्ने उल्लेख गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गछौँ। संविधानका आधारभूत विषय छन् । त्यसमा कुनै प्रतिरोध नहुनेगरी समावेशीता, थप सुदृढ, बलियो र जनताका लागि कार्यान्वयन हुनेगरी संविधानको संशोधन हुन्छ,’ लेखकले भने, ‘संविधानको अभ्यासका क्रममा देखिएका सरलता र जटिलता समिक्षा गरेर मात्र संविधान संशोधन हुन्छ।’ तर, एक वा दुई पार्टीको चाहानाले नभएर चरणबद्ध छलफल गरेर सबै राजनीतिक दलको सहमतीका आधारमा संशोधन गरीने उनको भनाई थियो।
‘पहिलो चरणमा ९÷१० वर्षसम्म संविधानको जुन अभ्यास गरेका छौँ । त्यसको समिक्षा गछौँ। के–के राम्रा भए ? कहाँ कहाँ जटिलता भए समिक्षा गछौँ । त्यसले विषयवस्तु पहिचान हुन्छ,’ उनले भने, ‘विषयवस्तु पहिचान भइसकेपछि ती माथी सबै दलसँग संवाद गछौ। सबै दलसँग संवाद गरेपछि सहमतीका आधारमा संविधान संशोधन हुन्छ।’
मुलुकमा कांग्रेस र एमालेले विशेष परस्थितीमा गठबन्धन गरेर सुखद परिणाम प्राप्त गरेको इतिहास रहेको उल्लेख गर्दै लेखकले अहिले पनि स्थिर सरकार र समीकरणका लागि दुवै दल मिलेको बताए।
संविधान संशोधनसँगै शिथिल भएको अर्थतन्त्र चलायमान गर्ने, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, विकास निर्माणलाई द्रूत गतिमा अघि बढाएर संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन दुवै दल मिलेको लेखकको भनाई थियो।
‘इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेका छौँ । निरुकुंश पञ्चायत व्यवस्थाविरुद्ध लड्न कम्युनिष्ट–कांग्रेस गठबन्धन गरेको थियौ। सशस्त्र संघर्षलाई मिलेर शान्तिमा रुपान्तरण गरेका छौँ, ’ उनले भने, ‘राजाले निरुकुंता लाध्दा मिलेर मुलुकमा लोकतन्त्र स्थापाना गर्दै मिलेर संविधान बनायौँ। देशमा महत्वपूर्ण एजेन्डालाई मिलेर सम्बोधन गरेका छौ। विशिष्ट परस्थितीमा कांग्रेस र एमाले मिलेका छौँ। अहिले पनि त्यही हो।’
अहिले पनि संघ र प्रदेशमा राजनीतिक अस्थिरताले २-३ महिनामै सरकार ढल्न अवस्था भएकाले स्थिर सरकार र समीकरणका दुई दल मिलेको लेखकको भनाइ छ ।