विराटनगर– मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन् । उनीहरूलाई विष सेवन गराएर मारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्कीको शव फेला परेको प्रहरीले जनाएकाे छ ।
मृतक नाबालिकाहरू धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । दुई बालिकाको शव भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।
कार्कीका अनुसार अर्जुन र अस्मिताबिच हिजो साँझ ६ बजेतिर झगडा भएको थियो । सवारी चालक रहेका अर्जुन बिहानै आफ्नो काममा लागे । श्रीमती अस्मिता पनि बिहानको मिर्मिरेमै दुई बालबच्चा च्यापेर पूर्वाञ्चल विश्वविद्यालयतिर लागेको स्थानीय जानकारी दिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए ।
तर, दिउँसो साढे ४ बजेतिर दुई नाबालिकाको शव भेटिएको थियो । उनीहरूको शव भेटिए पनि आमा अस्मिता भने अझै भेटिएकी छैनन् । आफ्ना दुवै छोरीलाई विष खुवाएर फरार भएको हुनसक्ने प्रहरीले जनाएको छ । ‘अर्जुन र श्रीमती २९ वर्षकी अस्मिता पौडेलबिच हिजो बेलुका भनाभन भएको रहेछ,’ एसपी नवराज कार्कीले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटिए ।’ बालिकाको शव भेटिएको स्थान नारायण न्यौपानेको केरा बगान हो ।
केरा बगानमा दुईवटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए । एसपी कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाको विषयमा छानबिन भइरहेको उनले जनाएको छ । ‘अस्मितालाई नभेटेसम्म घटनाको वास्तविकता नआउने भएकोले उनको खोजी भइरहेको छ । बालबालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी कार्कीले भने ।