• होमपेज
  • अर्थ
  • २१ भदौभित्र बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

२१ भदौभित्र बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

  • शुक्रबार, भदौ १४, २०८१
२१ भदौभित्र बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

धनगढी —सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट २१ भदौभित्र ल्याउने तयारी गरेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको साढे ३१ अर्ब बराबरको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।

२० साउनमा कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कमलबहादुर शाहले २१ साउनमा पदभार ग्रहण गर्दै चाडै बजेट ल्याउने बताएका थिए । सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका शाहले भदौ पहिलो साताभित्र बजेट ल्याएर रोकिएका कामलाई गति दिने दाबी गरेपनि सरकारले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

सरकारले २४ साउनमा सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ ल्याएर रोकिएको कर संकलनको बाटो खोलेको थियो तर बजेट कहिले ल्याउँछ भन्ने कुरा प्रष्ट छैन ।

यद्यपि मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले २१ भदौभित्र बजेट ल्याउने गृहकार्य गरिरहेको बताएका छन् । शाहले प्रदेश सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित ल्याउने तयारी रहेको समेत बताए ।

‘सरकारले अगामी २०–२१ गतेसम्म प्रदेश सभामा पेश गर्नेगरी बजेट तयारी गरिरहेको छ’, शाहले भने, ‘पहिले नै सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित नयाँ आउँछ होला ।’

उनले आवश्यक योजना तथा कार्यक्रम नयाँ बजेटमा समावेश गर्ने र आवश्यक नभएकालाई हटाउने बताए ।

आर्थिक मामिला मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको ६ अर्ब १५ करोड रुपैयाँ बचत हुने अनुमान थियो । तर ४ अर्ब ८४ करोड मात्रै बचत भएकाले बजेटको आकार घट्ने देखिएको छ ।

प्रदेश सभामा यसअघि बजेट पेश भइसकेको तर पारित हुन नसकेको कारणले गर्दा अध्यादेशमार्फत नयाँ बजेट ल्याउने वा प्रतिस्थापन विधेयक ल्याउने विकल्प सरकारसँग छ ।

‘औपचारिक रुपमा बजेट प्रदेश सभामा यसअघि नै पेश भइसकेको छ । यस्तो अवस्थामा फेरि अर्को बजेट पेश गर्न सकिदैन’, अधिकारीले भने, ‘पहिलेको विधेयकलाई फिर्ता गरेर सरकारले मन्त्रिपरिषद्‍बाट निर्णय गरी नयाँ पेश गर्न सक्छ ।’

चर्चामा

सम्बन्धित समाचार