• होमपेज
  • समाज
  • शिकार खेल्न गएका पूर्वडीआईजी शाह बन्दुकसहित पक्राउ

शिकार खेल्न गएका पूर्वडीआईजी शाह बन्दुकसहित पक्राउ

  • बिहिबार, भदौ १३, २०८१
शिकार खेल्न गएका पूर्वडीआईजी शाह बन्दुकसहित पक्राउ

काठमाडौं- बँदेल मारेको अभियोगमा नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम शाहसहित १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो।

गोली हानेर मारिसकेको बँदेल ट्याक्टरमा लुकाइराखेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

बँदेल मारिसकेका पूर्वडीआईजी शाहसहितको टोली स्कार्पियो गाडीमा रहेको अवस्थामा हतियार पनि भेटिएको थियो । बँदेल मारेर राखिएको ट्याक्टर कसको हो भन्ने खुलेको छैन ।

सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई सप्तरी प्रहरीमा राखिएको छ । पूर्वडीआईजी ६१ वर्षीय शाह इटहरी उपमहानगरपालिका–२ निवासी हुन् ।

शाहसँगै चोरीशिकार अभियोगमा नेपाल प्रहरीका बहालवाला सई मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने पनि पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ गरेकाहरूमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव र हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला छन् ।

त्यसैगरी सप्तरीकै हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरू सवार गाडीबाट प्रहरीले प्वाइन्ट २.२ क्यालिबर राइफल पनि बरामद गरेको छ। पूर्वडीआईजी शाह शिकार खेल्न शौखिन हुन् ।

प्रहरीले प्वाइन्ट २.२ क्यालिबर राइफल, त्यसको २ वटा म्याग्जिन २, १५ राउण्ड गोली, बाइनाकुलर तीनवटा, एउटा ट्राइपोर्ट, फलामको हथौडा एउटा, खुर्पा एउटा पनि बरामद भएको छ।

प्रहरीले प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा शिकार गरिएको बँदेल पनि बरामद गरेको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले घटनाको पुष्टि गरेका छन् । उनले गोली हानेर मारेको अवस्थामा बँदेल बरामद भएको बताएका छन् । तर बँदेललाई कसले गोली हानेको भन्ने उनले खुलाउन चाहेनन् ।

डीआईजी पोखरेलले पूर्वडीआईजी शाह पक्राउ गरेको स्वीकारेका छन् । तर उनले धान खान आएको अवस्थामा बँदेललाई गाउँलेले मारेको या शिकार गरिएको भन्ने पुष्टि नभएको बताएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहोराले पनि सप्तरी प्रहरीले यसबारे जानकारी गराएको पुष्टि गरेका छन् । उनले प्रहरीका उच्च पूर्वअधिकारीसहित १० जना पक्राउ परेको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार