काठमाडौँ —सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दन शर्मा वा अन्य नेतालाई दिन अनुरोध गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । यसअघि बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले लेखा समितिको सभापति मात्र होइन प्रतिपक्ष दलको नेता पनि लिन भन्दै आक्रोश पोखेका थिए ।
जवाफमा पन्तले प्रचण्डलाई उक्त पद नदिएको भन्दै माओवादी संसदीय दलको नेतालाई उपलब्ध गराउने पद भएको बताए ।‘संविधान पढ्नुस् नेताजी प्रमुख प्रतिपक्ष हामीले खोजेर पाउने पद हो ? तपाईंलाई दिएको हैन तपार्इंको पार्टीलाई दिएको हो । मन लाग्दैन भने तपाईँको छेउमा जनार्दन बस्नुभएको छ । उहाँलाई दिनुस्,’ उनले भने ।
नेता पन्तले सरकार र प्रधानमन्त्री पद गुमेपछि कति औडाह र छटपटी भएको भन्दै भने,‘हिजो सत्ता जता, त्यतै प्रचण्ड भनेर स्थापित गर्ने मान्छे तपाईं हैन ?’