• होमपेज
  • राजनीति
  • प्रस्तावित राजदूतविरुद्ध परेका ९ वटा उजुरी भोलि खोलिँदै

प्रस्तावित राजदूतविरुद्ध परेका ९ वटा उजुरी भोलि खोलिँदै

  • सोमवार, भदौ १०, २०८१
प्रस्तावित राजदूतविरुद्ध परेका ९ वटा उजुरी भोलि खोलिँदै

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । उनीहरूविरूद्ध परेको उजुरी मंगलबार बस्ने समितिको बैठकमा खोलिँदैछ । समिति सभापति ईश्वरी न्यौपानेले कुल ९ वटा उजुरी परेको रातोपाटीलाई जानकारी दिइन् । ‘कसका विरुद्ध के उजुरी परेको छ भोलि ११ बजे बस्ने बैठकमा हामी खोल्छौँ‚’ उनले भनिन् ।

साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो । तर‚ साउन २९ मा बसेको संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको थियो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएन ।

सरकारले राजदूत सिफारिसबारे संसदलाई जानकारी पठाएपछि सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक सूचना जारी गरी उजुरी मागेको थियो । सोही आधारमा सुनुवाइ समितिमा ९ वटा उजुरी परेका हुन् । प्राप्त जानकारी अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार