धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेश सभामा पेस गर्यो। नीति तथा कार्यक्रम पारित गरेर बजेट प्रदेश सभामा छलफलका क्रममा रहेका बेला सत्ता समिकरण फेरियो। त्यसपछि नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बने। समिकरण फेरिएसँगै नयाँ बजेटको गृहकार्य थालिएको छ। तर, मन्त्रालय र कार्यालयहरूले भने नयाँ कार्यक्रमहरू अझै तयार पार्न सकेका छैनन्। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेशका मन्त्रालयहरू बजेटका लागि कार्यक्रम तयार गर्न लागेको बताए।
सार्वजनिक बिदा लगाइत कारणले बजेट तयार हुन समय लागेको तर्क मन्त्री थापाको छ। उनले भने, ‘दिन तोक्न सक्ने अवस्था छैन। हिजो बिदा भयो। भोलि बिदा छ। पर्सि पनि बिदा पर्दैछ। केही काम यही कारणले पनि ढिलो भएको छ। अर्थबाट मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। तीन÷चार दिनमा मन्त्रालयहरूको काम सक्न भनेका छौ।’ सुदूरपश्चिममा नयाँ बजेटका कार्यक्रमहरू तयार नहुँदा बजेट कहिले आउने भन्ने अन्योल कायमै छ।
विषयगत मन्त्रालयहरूले बजेटसँग सम्बन्धित कार्यक्रमहरू तयार पार्न नसक्दा अन्योल बढेको हो। चालु आर्थिक वर्षको बजेट पास नहुँदा यतिबेला बजेट शून्यताको अवस्था छ। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट निर्धारित समयमा पास नहुँदा बजेट शून्यतामा गएको थियो। तर, वर्तमान सरकारले नयाँ बजेटका कार्यक्रम समेत अझै तयार पार्न सकेको छैन्।
विषयगत मन्त्रालहरूले आर्थिक मामिला मन्त्रालयको प्रणालीमा बजेटका कार्यक्रम समावेश गर्न नसक्दा नयाँ बजेट ल्याउने मिति समेत तय हुन नसकेको हो। मन्त्री थापाले भने, ‘मन्त्रालयहरूले कार्यक्रम पेस गर्ने प्रणाली हामी खोलेका छैनौ। तीन दिनका लागि प्रणाली हामी खोल्छौ। उहाँहरू कार्यक्रम राख्नुहुन्छ। मन्त्रालयहरूले बजेट प्रणालीमा पेस गरेपछि बन्द गर्छौ। हामी बजेट तयार भएपछि प्रदेश सभामा पेस गर्छाै।’
मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले प्रदेश सभाबाट पास भएको नीति तथा कार्यक्रम अनुसार नै नयाँ बजेट ल्याउने गृहकार्य थालेको छ। आर्थिक मामिला मन्त्रालयले मन्त्रालय तथा कार्यालयहरूलाई कार्यक्रम माग गरेका छन्। तर, मातहतका कार्यालयहरूले अर्थ मन्त्रालयको प्रणालीमा कार्यक्रम समावेश गर्न सकेका छैनन्। आर्थिक मामिला मन्त्रालयले प्रणालीमा कार्यक्रम समावेशका लागि आग्रहसमेत गर्न बाँकी छ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले तीन दिन मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट कार्यक्रम समावेशका लागि आग्रह गर्ने बताएको छ। सो अवधिसम्म प्रणाली बन्द गरेर आर्थिक मामिला मन्त्रालयले कार्यक्रमहरूको अध्ययन गर्ने तयारी छ। सो मन्त्रालयको प्रणालीबाट स्वीकृत भएपछि मात्र बजेट तयार हुने बताइएको छ। भदौ २० गतेभित्र प्रदेश सभामा बजेट पेस गर्ने तयारी भइरहेको सुदूरपश्चिम सरकारको दाबी छ।
आर्थिक मामिला मन्त्री थापाले पुनरावलोकनसहतिको बजेट ल्याउने बताए। उनले भने, ‘हामीलाई यो बजेटलाई पुनरावलोकनसहितको परिमार्जन बजेट भनेका छौ। कानुनी जटिलता पनि हो। बजेटका सिद्धान्त तथा प्राथमिकतासमेत पास भएको छ। चालु बजेटलाई संशोधन गर्न सिल्दैन।’ तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले बिचौलिया मार्फत कार्यक्रम बिक्री गरेको आरोप लगाउँदै वर्तमान सरकारले संशोधन गरेर बजेट ल्याउने दाबी गर्दै आएको छ। दिनेश खवरबाट