• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ११ हजार बढी राष्ट्रिय परिचय पत्र प्रशासनमै थन्किए

बाजुरामा ११ हजार बढी राष्ट्रिय परिचय पत्र प्रशासनमै थन्किए

  • आइतवार, भदौ ९, २०८१
बाजुरामा ११ हजार बढी राष्ट्रिय परिचय पत्र प्रशासनमै थन्किए

लक्ष्मीराज पाध्याय —नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र बाजुरा प्रशासन कार्यालयमै थन्किएका छन् । बाजुरा जिल्लामा विभिन्न समयमा राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिएका नागरिकहरुको १४ हजार ५ सय परिचय पत्र छपाई भएर आएका परिचय पत्र जिल्ला प्रशासनमा थन्किएका हुन् ।

प्रशासनमा पुगेका परिचय पत्र वितरण भईरहेको भएपनि परिचयपत्र लिन स्वय्म व्यक्ति उपस्थिती हुनुपर्ने भएकाले परिचय पत्र लिनेको संख्या न्युन रहेको जिल्ला प्रशासन कार्यालय बाजुरा राष्ट्रिय परिचय पत्र शाखाका कर्मचारी जया ऐडीले बताएका छन् । २०८० मसिंर २० गतेबाट बाजुरामा परिचय पत्र वितरण कार्य सुरु गरिएको भए पनि हाल सम्म ३ हजार मात्रै वितरण भएको ऐडीले बताए । २०७७ साल असोज ११ गते देखि राष्ट्रिय परिचय पत्रका लागि आवेदन कार्य सुरु भएकोमा हालसम्म निरन्तर रहेको ऐडीले बताए ।

जिल्लाका नौ ओटै स्थानिय तहमा राष्ट्रिय परिचय पत्र फारमका लागि शिबिर, अभियान र प्रशासनबाटै हालसम्म ४३ हजार २ सय ७५ जनाले आवेदन दिएका छन् । पहिलो चरणमा बाजुरामा १४ हजार ५ सय परिचय पत्र आईसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मतदाता संख्याको आधारमा जिल्लामा ७४ प्रतिशत नागरिकहरुको राष्ट्रिय परिचय पत्र विवरण संकलन भईसकेको छ ।

नौ ओटा स्थानिय तह अन्तरगत सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा ६८ प्रतिशत अर्थात ४ हजार ७ सय ४३ जनाको राष्ट्रिय परिचय पत्र आबेदन फारम संकलन गरिएको छ । त्यसै गरि बुढिगंगा नगरपालिका र त्रिवेणी नगरपालिकामा समान ७४ प्रतिशत, हिमाली गाउँपालिका ९० प्रतिशत, स्वामिकार्तिक खापर गाउँपालिकामा ७५ प्रतिशत, गौमुल गाउँपालिकामा ६५ प्रतिशत, जगन्नाथ गाउँपालिकामा ८६ प्रतिशत, बुढिनन्दा नगरपालिकामा ९२ प्रतिशत र खप्तड छेडेदह गाउँपालिकामा ७३ प्रतिशत राष्ट्रिय परिचय पत्र विवरण फारम संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकं रहेको छ ।

राष्ट्रिय परिचय पत्र वितरण कार्यको सुरुवात भएको एक बर्ष पुग्न लाग्दा पनि न्युन वितरण हुनुमा आँखा, कान र हस्ताक्षर सहित बायोमेट्रिक लिएर सम्बन्धित व्यक्तीले परिचय पत्र पाउने भएकोले सम्बन्धित व्यक्ती उपस्थित हुन नसक्नु लगायतका कारणहरु रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । सम्बन्धित व्यक्ती प्रशासनमा उपस्थित नहुनु भनेको ति व्यक्तीहरु जिल्लामा नभएको हुन सक्ने अनुमान गरिएको प्रजिअ पौडेलले बताए ।

जिल्लामा राष्ट्रिय परिचय पत्रको फारम भरेर अनलाइनबाट आएको नम्बरबाटै राहदानी बनाएर कतिपय युवाहरु विदेश रहेकाले परिचयपत्र लिन नआएको हुन सक्ने राष्टिय परिचय पत्र वितरण शाखाका कर्मचारीहरुको अनुमान छ । त्यसै गरि बाजुराका नागरिकहरु रोजगारीको सिलसिलामा भारत गएका र अधिकांश युवाहरु उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर रहेकोले परिचय पत्र लिन नआएको शाखाका कर्मचारीहरु बताउछन् ।

जिल्लामा पुगिसकेका राष्ट्रिय परिचय पत्र वितरण हुनुपुर्व सम्बन्धित व्यक्तीलाई तपाईको परिचय पत्र लिन आउनु भन्ने म्यासेज जाने गर्छ त्यसपछि धेरै जनाले आफुहरु जिल्ला बाहिर रहेकोले सुरक्षित राखिदिन भनेर फोन समेत आउने गरेको कर्मचारीले बताएका छन् । प्रशासन कार्यालय बाजुराले आफ्नो परिचयपत्र लिन आउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार