• होमपेज
  • अर्थ
  • जुम्लाबाट ४० करोडको स्याउ निर्यात हुने अनुमान

जुम्लाबाट ४० करोडको स्याउ निर्यात हुने अनुमान

  • शनिबार, भदौ ८, २०८१
जुम्लाबाट ४० करोडको स्याउ निर्यात हुने अनुमान
फाइल तस्बिर

जुम्ला– यस वर्ष जुम्लाबाट ४० करोड रुपैयाँको स्याउ निर्यात हुने आँकलन गरिएको छ । गत वर्ष स्याउ निर्यातबाट जुम्लाले ५० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस वर्ष उत्पादन करिब ३ हजार टन घट्दा आम्दानी पनि १० करोड रुपैयाँले घट्ने देखिएको हो । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउको निर्यात रहेको छ । यतिबेला जुम्लामा स्याउ संकलन र निर्यात गर्ने चटारो छ ।

व्यापारी किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका छन् । किसान र व्यापारिको समझदारीमै मूल्य निर्धारण हुने क्रम जारी रहेको छ । कृषि विकास कार्यालय जुम्लाले यहाँका आठै पालिकामा रहेका किसानहरुको बगैँचामा पुगेर खरिद बिक्रीको न्यूनतमदेखि अधिकतम मूल्यको प्रक्षेपण गरेअनुसार जुम्लामा यस वर्ष १४ हजार मेट्रिकटन स्याउ उत्पादन हुने देखिएको हो ।

उत्पादनको सबैभन्दा बढी हिस्सा गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकाले ओगटेको छ । गुठिचौरमा नेपालकै दोस्रो ठूलो करिब २२ हेक्टर जमिनमा फैलिएको स्याउ बगैंचा छ । अर्को गुठिचौरमा १७ हजार हेक्टरमा फैलिएको बगैँचा छ । ती बगैँचाबाट दर्जनौले रोजगारी पाउनुका साथै स्याउ खेतीमा क्रान्तिनै आएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा यस वर्ष १४ हजार टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको बताए । उनका अनुसार उत्पादन भएको १४ हजार टनमध्ये १० हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात हुने भएको छ । बाँकी चार हजार टन स्याउ जुम्लामै खपत हुने अनुमान छ । हाल स्याउ सरदर ६०/६५ रुपैयाँ प्रतिकेजी खरिद बिक्री भइरहेको छ ।

‘सरदर न्युनतम मूल्य ४० रुपैयाँ प्रतिकेजी बिक्री गर्दा पनि १० हजार टन स्याउ निर्यात गर्दा झण्डै ४० करोड जुम्लामा आम्दानी हुने छ । किसानले न्युनतम ५ लाखदेखि २५/३० लाखसम्म आम्दानी गर्ने अनुमान छ,’उनले भने । जुम्लाको आठ पालिकामध्ये गुठिचौर, चन्दननाथ र पातारासीमा स्याउ उत्पादन राम्रो भएको छ । अन्य पाँच पालिकामा अपेक्षित रुपमा स्याउ उत्पादन हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि विकास विकास कार्यालयले स्याउ प्याकेजिङ सहजताका लागि प्रति कार्टुन २० रुपैयाँ अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराएको छ । स्याउ आर्थिक समृद्धिको आधार भए पनि निर्यातका लागि ढुवानीमा सहुलियत, भरपर्दो सडक, किसानको श्रमअनुसार मूल्य निर्धारण नहुँदा स्याउबाट अपेक्षित लाभ अझै जुम्लाले लिन सकेको छैन ।

जुम्लाका किसानले वर्षौदेखि स्याउको ढुवानीमा सहुलियत तथा कार्टुन पूर्ण अनुदानमा पाउनु पर्ने माग गर्दै आएका छन् । तर किसानको माग अझै पुरा हुन सकेको छैन । हाल जुम्लाको चार हजार दुई सय ५० हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । स्याउ खेतीको क्षेत्र विस्तारका लागि स्याउ सुपरजोनदेखि कृषि विकास कार्यालय सक्रिय रूपमा लागि परेका छन् । काराेबार दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार