• होमपेज
  • कोशी प्रदेश
  • देशभर ६२० जनालाई कैद मिनाहा सिफारिस

देशभर ६२० जनालाई कैद मिनाहा सिफारिस

  • मङ्लबार, साउन २९, २०८१
देशभर ६२० जनालाई कैद मिनाहा सिफारिस

काठमाडौं– आगामी असोज ३ गते संविधान दिवसको दिन सरकारबाट हुने कैद मिनाहाका लागि देशभरबाट ६ सय २० जना कैदीबन्दी सिफारिस भएका छन्। कारागार व्यवस्थापन विभागले देशभरका कारागारबाट आएको ६ सय २० जना कैदीबन्दीको विवरण सार्वजनिक गरेको छ। गतवर्ष कर्तव्य ज्यान मुद्दामा कैदकट्टी तथा माफी मिनाहा पाएका रेशम चौधरी र चेतन मानन्धर ‘रिगल’ जेलमुक्त भएपछि सरकारबाट हुने माफी मिनाहाको चौतर्फी आलोचना भएको थियो। आलोचनापछि चेतनविरुद्ध लागेको मुद्दा पुनः अदालतमा प्रवेश पाएको थियो।

सर्वोच्च अदालतले उनलाई पुनः कारागारमा पठाउने आदेश दिएको थियो। यस वर्ष कैद मिनाहा पाउने व्यक्तिको विषयमा विवाद नआओस भनेर नै कारागार व्यवस्थापन विभागले कैदीहरूको सूची सार्वजनिक गरेर नागरिकको प्रतिक्रिया मागेको हो। कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कैद कट्टाका लागि फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको नियमावलीअनुसार नै व्यक्ति विवरण सार्वजनिक गरिएको हो। ऐनको तेस्रोपटक संशोधन भएर नियमावली बनेपछि कैदीबन्दीको कैदकट्टा गर्ने प्रयोजनार्थ यो वर्षदेखि माफी मिनाहामा परेको व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको हो।

पाण्डे भन्छन्, ‘अन्य कसुरमा जेल परेका व्यक्तिहरूको विषयमा जो कोहीले पनि प्रतिक्रिया दिन सक्छन्। तर, कर्तव्य ज्यान कसुरका कैदीबन्दीको हकमा पीडितका परिवारको सहमति आवश्यक पर्छ।’ कैद मिनाहाको सूचीमा परेका व्यक्तिहरूउपर केही गुनासो आएमा सम्बोधन गरिने प्रवक्ता पाण्डेले बताए। कर्तव्य ज्यान मुद्दामा जेल परेका व्यक्तिलाई कैद मिनाहा दिन पीडित परिवारले स्वीकृति नदिए यो सिफारिस कार्यान्वयन हुने छैन। कारागार प्रशासकको रोहवरमा सहमति दिनुपर्ने छ।

कारागार व्यवस्थापन विभागका अनुसार कैद कट्टाको सिफारिसविरुद्ध जनताको प्रतिक्रिया आउने क्रममा छ। यो सिफारिसमा पर्नेहरूमा आफूउपर परेको सजायको ५० प्रतिशत कैद बसिसकेका ५ सय ८६ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन्। यस्तै ३ जना जेष्ठ नागरिक छन्। सबैभन्दा बढी चोरी मुद्दाका १ सय ८५ जना, बहुविवाह मुद्दाका १ सय ४३ जना, सवारी ज्यान मुद्दाका ९५ जना, नकाबजनी चोरी मुद्दाका ८२ जना, डाँका मुद्दाका ७३ जना र अन्य विभिन्न कसुरका कैदीहरू छन्।

कारागार व्यवस्थापन विभागले गत असार ९ गते नै कैदकट्टा हुनका लागि देशभरका कारागार कार्यालयबाट सिफारिस भएका ६ सय २० जना कैदी बन्दीको विवरण विभागको वेबसाइटबाट सार्वजनिक गरिएको थियो। आगामी असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले कैदीहरूको कैद मिनाहा गर्ने छन्। याे समाचार अन्नपुर्ण पाेष्ट दैनिकबाट लिइएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार