• होमपेज
  • समाज
  • आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

  • सोमवार, साउन २८, २०८१
आज साउनको अन्तिम सोमबार,  शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको प्रिय महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार