• होमपेज
  • विचित्र संसार
  • जागिरका लागि सीप होइन, महिला आवेदकको गर्भ परीक्षण !

जागिरका लागि सीप होइन, महिला आवेदकको गर्भ परीक्षण !

  • सोमवार, साउन २१, २०८१
जागिरका लागि सीप होइन, महिला आवेदकको गर्भ परीक्षण !

राम्रो जागिर पाउनका लागि के-के चाहिन्छ ? राम्रो सीप, शैक्षिक योग्यता तथा अनुभव आदि । तर, यी सबै कुरा हुँदाहुँदै पनि अहिलेको प्रतिस्पर्धी जमानामा जागिर पाउनु फलामको च्युरा जस्तै छ । रोजगारदाताले जागिरमा राख्ने उम्मेदवार छनोटका लागि विभिन्न विधिहरू अपनाएका हुन्छन् । हुँदाहुँदा केही कम्पनीले त योग्यता परीक्षणका अलावा महिला उम्मेदवारको गर्भ परीक्षण पनि अनिवार्य गरेका छन् ।

आजकल सोसल मिडियामा एउटा यस्तै घटना चर्चाको विषय बनिरहेको छ । चीनका वकिलहरूले हालै कम्तिमा १६ वटा यस्ता कम्पनीहरू विरुद्ध मुद्दा दायर गरेका छन् । ती कम्पनीहरुले जागिरका लागि आवेदन गर्नका आएका महिला आवेदकहरुको गर्भ परीक्षण गराएका छन् ।

ती कम्पनीहरुले महिला आवेदकहरुलाई औपचारिक रुपमा जानकारी नै नगराइकन उनीहरुको गर्भ जाँच गरेका र एकजना महिला गर्भवती भएको पुष्टि भएसँगै जागिरका लागि अयोग्य घोषित गरेको बताइएको छ ।

सिएनएनका अनुसार चीनको जियांग्सु प्रान्तस्थित नानटोंग जिल्लामा यस्तो घटना भएको हो । एकजना महिलाले गुनासो गरेपछि यो काण्डको खुलासा भयो । वकिलहरुले त्यसरी रोजगारीका लागि आवेदन दिने महिलाहरुको अवैधानिक रुपमा गर्भ परीक्षण गराएको अभियोगमा १६ वटा विभिन्न कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

ती कम्पनीहरुले महिलाको समान रोजगारीको अवसरको अधिकार उल्लंघ गरेका छन् । पीडित महिलामध्ये एकजना गर्भवती थिइन् र त्यो खुलासा भएसँगै उक्त कम्पनीले उनलाई दिएको नियुक्तिपत्र नै खारेज गरिदियो ।

यस्तो गतिविधि केवल चिनियाँ कानुनको उल्लंघन मात्र नभएर महिलाहरुको समग्र मानव अधिकारकै उल्लंघन हो ।  चीनको कानूनले जागिरमा भर्ना पूर्वका प्रक्रियामा आवेदक महिलाको गर्भ परीक्षणमाथि रोक लगाएको छ । यस्तो कार्यलाई महिलाको समान रोजगारीका अवसरसम्बन्धी अधिकारको उल्लंघन मानिन्छ।

यो घटना सार्वजनिक भएसँगै चिनियाँ अधिकारीहरुले त्यस विषयमा अनुसन्धान सुरु गरेका छन् । ती विभेदकारी कम्पनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भैरहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार