• होमपेज
  • विचित्र संसार
  • लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण

लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण

  • सोमवार, साउन २१, २०८१
लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण

लोग्नेस्वास्नीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, लोग्ने र स्वास्नीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ?

कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा अवतरण गर्नुपर्ने आपत आइलाग्दो रहेछ । आयरल्याण्डमा हालै एउटा यस्तै घटना भएको डेलीस्टारले उल्लेख गरेको छ ।

समाचार अनुसार आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको उक्त जहाजका यात्रुका रुपमा रहेका एक दम्पतिबीच जहाज भित्रै झगडा सुरु भयो ।

आखिर पतिपत्नीको झगडा न हो, एकछिनमै कलह शान्त भैहाल्ला भन्ने अरु सबै यात्रु तथा चालक दलको विश्वास थियो । तर, त्यस्तो भएन । झगडा उग्र बनेर मारमुंग्रीकै तहमा पुग्यो । जसका कारण यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराए ।

बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । उक्त जहाजभित्र यात्रुको रुपमा रहेका एक दम्पतिबीच निकै उग्र झगडा भएसँगै विमानका कर्मचारीले उनीहरुलाई शान्त पार्ने कोसिस गर्दा समेत झगडिया लोग्नेस्वास्नी मारपिटमै उत्रिन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसपछि सो जहाजलाई न्यानटेस विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

जहाजभित्र कुटपिट तथा झगडाका क्रममा पत्नी चाहीँको अनुहारमा चोट लागेको थियो । पत्नीमाथि हातपात गर्ने पुरुषलाई विमान अवतरण पश्चात् पक्राउ गरिएको थियो । झगडालु दम्पतिलाई निकालेसँगै करीब २ घण्टापछि जहाज पुनः उडाइएको थियो । जहाजभित्रै झगडा तथा मारपिट गर्ने ती झगडालु पति पत्नीको नाम चाहीँ खुलाइएको छैन ।

चर्चामा

सम्बन्धित समाचार