काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको टुंगो गरेको छ । आकांक्षीहरू अत्यधिक भएपछि विधानभन्दा बाहिरको व्यवस्थासहित केन्द्रीय कमिटी थपिएको हो । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको छ ।
तर समाजवादीले सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी शुक्रबार टुंगो गरेको छ । आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
खतिवडाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि बैठक बसेर छिटै पदाधिकारी चयन गर्ने जानकारी दिएका छन् । असार १६ देखि ४ दिनसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय नेतृत्व तय गर्न सकेको थिएन । केही पदाधिकारी मात्रै टुंगो गरेको महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । अब ३४४ सदस्यीय केन्द्रीय कमिटीको टुंगो भएकाले बाँकी पदाधिकारी त्यसपछि टुंग्याउने तयारी छ । समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको मात्रै नाम टुंग्याएको थियो ।
हेर्नुस् पूरा सूची