• होमपेज
  • बडिमालिका
  • मार्तडी बजारमा कृषि हाटबजारका लागि संरचना निर्माण

मार्तडी बजारमा कृषि हाटबजारका लागि संरचना निर्माण

संचालनमा आउन अझै समय लाग्ने

  • शुक्रबार, साउन ११, २०८१
मार्तडी बजारमा कृषि हाटबजारका लागि संरचना निर्माण

टेकबहादुर बुढा/बाजुरा– बाजुरामा कृषि हाटबजारका लागि संरचनाहरु बनेका छन् । जिल्ला सदरमुकाम मार्तडीमा कृषि हाटबजारका लागि एक भवन बडिमालिका नगरपालिका र तीनवटा सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा संरचना निर्माण गरिएका हुन् ।

बडिमालिका नगरपालिका र प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा निर्माण सुरु भएका तीनवटा भवनहरु ठेक्का सम्झौताको एक बर्षमै बनेपनि निर्देशनालयकै लगानीको भवन ठेक्का भएको करिब तीन बर्षपछि सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय अनुसार २०७८ बैशाखमा ए.एच कन्ट्रक्सनले ४१ लाख ९६ हजार ६ सय ४५ रुपैयँमा ठेक्का सम्झौता भएको थियो । सोहि आर्थिक बर्षको असार मसान्तसम्म सक्ने गरी कामको ठेक्का सम्झौता भएको भएपनि दुई बर्ष ढिला गरि निर्माण कार्य सम्पन्न भएको छ ।

कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोसराज बडुले चिस्यान केन्द्र भवन निर्माणको काम सम्पन्न भएर मेसिन जोड्न मात्रै बाँकी रहेको बताएका छन् । मेसिन जोड्ने मान्छे इन्डियाबाट ल्याउनुपर्ने भएकाले केहि ढिलाई भएको र साउन मसान्तसम्म सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए ।

त्यसै गरी आर्थिक बर्ष २०८०/०८१ मा बडिमालिका नगरपालिकाका ११ लाख ८३ हजार मा ठेक्का सम्झौता भएर भवन निर्माणकार्य सम्पन्न भइसकेको जनाएको छ । त्यस्तै प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा एक भवन २०८० पुष १ गते र अर्को २०८१ वैशाख १ गते ठेक्का सम्झौता असार मसान्तसम्म निर्माण कार्य सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । संरचना निर्माणको जिम्मा लिएको हरिष कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बडिमालिका नगरपालिका ८ ले ५२ लाखमा ठेक्का सम्झौता गरेर अहिले सम्पन्न भएको ठेकेदार अर्जुन बहादुर थापा बताएका छन् ।

मौसम अनुसार उत्पादन हुने कृषिजन्य वस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यान केन्द्र समयमै निर्माण नहुँदा समस्या झेल्दै आएको किसानहरुले गुनासो गर्नुभएको छ ।
समयमै कृषि हाटबजार सञ्चालनमा आए जिल्लाका किसानहरुको बारीमा उत्पादन हुने कृषि उपज भण्डार तथा बिक्री वितरणमा ठुलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताए ।

खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले जिल्लामा कृषि हाटबजार नहुँदा किसानहरुले उत्पादन गरेका तरकारी तथा फलफूल बारीमै कुहिने तथा मार्तडीका सडकका गल्ली तथा डिलमा बसेर बिक्री गर्नपर्ने जस्ता समस्या रहेको भन्दै तत्काल हाटबजार सञ्चालन गर्न सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।

बाजुरामै चिस्यान केन्द्र सहित कृषि हाटबजार सञ्चालनमा आएपछि जिल्लामा उत्पादन हुने आलु, बन्दा लगायतका तरकारी तथा सुन्तला, स्याउ लगायतका फलफूल भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले जनाएको छ ।

कृषि उपज संकलन केन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस बर्षभित्र सञ्चालन गर्ने निणर्य गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताएकी छन् । संकलन केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन तथा अनुभवका लागि नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र कृषि विकास शाखाको टिम बाहिर गएकाले उहाँहरु आएपछि दशैं अगावै सञ्चालनमा ल्याएर कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई संकलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको नगर उपप्रमुख थापाले जानकारी दिइन् ।

चर्चामा

सम्बन्धित समाचार