• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका अधिकांश सरकारी कार्यालय निमित्त र कार्यालय सहयोगीका भरमा

बाजुराका अधिकांश सरकारी कार्यालय निमित्त र कार्यालय सहयोगीका भरमा

सरकारी कार्यालयमै छैनन् दरबन्दी अनुसारका कर्मचारी

  • बिहिबार, साउन १०, २०८१
बाजुराका अधिकांश सरकारी कार्यालय निमित्त र कार्यालय सहयोगीका भरमा

बाजुरा १० साउन —असार मसान्त सकिएसंगै बाजुराका अधिकांश सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु बिदा गोष्ठीमा बिदामा जाँदा निमित्त र कार्यालय सहयोगीका भरमा कार्यालय संचालनमा रहेका छन् । बाजुराका सरकारी कार्यालयमै दरबन्दी अनुसारका कर्मचारी नभएको पाइएको छ ।

जिल्लाका अधिकांश सरकारी कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको गुनासो बढेको छ । सबै भन्दा बढी प्रदेश सरकार अन्तरगतका कार्यालयहरुमा रिक्त दरबन्दी रहेका छन् । दैनिक सरकारी कामकाज छिटो छरितो र सहज बनाउनका लागि सरकारी कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नरहेकोले काम काजमा समेत असहज हुने गरेको कार्यालयहरुले बताउने गरेका छन् ।

समाचार स्रोतका अनुसार एक त सरकारी कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नै छैनन् अर्को असार सकिएपछि धेरै जसो कार्यालयका कर्मचारी गोष्ठी विरामी उपचार लगाएत विभिन्न कामको बाहनामा विदामा गएपछि कार्यालय सहयोगीकै भरमा कार्यालयहरु सञ्चालन भइरहेका छन् ।

सदरमुकाम मार्तडी स्थित नापी कार्यालयमा १२ जनाको दरबन्दी भए पनि अहिले दुई अमिन र एक सह लेखापाल सहित कार्यालय सहयोगीको भरमा सेवा प्रभाह भइरहेको कार्यालय जानकारी दिएको छ । नापी कार्यालय प्रमुख साउन २ गते परीक्षा भन्दै घर गएका र २ जना सर्वेक्षक, एक अमिन ३ महिनाका लागि काजमा रहेको जनाएको छ ।

त्यस्तै सूचना अधिकारी नापी विभागको बार्षिक समिक्षा कार्यक्रममा सहभागी हुन काठमाडौं गएका र केहि दिनमा आइपुग्ने कार्यालयले जनाएको छ । त्यस्तै सामाजिक विकास कार्यालय बाजुरामा दरबन्दी अनुसार कार्यालय प्रमुख सहित एक प्राविधिक सहायक, २ सव इन्जिनियर र २ जना कार्यालय सहयोगी भएपनि अहिले एक सव इन्जिनियर र कार्यालय सहयोगीकै भरमा चलिरहेको जनाएको छ । कार्यालयका अनुसार कार्यालय प्रमुख मीन बहादुर लामिछाने सोमबार सम्पत्ति विवरण र कार्य सम्पादन मूल्यांकन विवरण बुझाउन निर्देशनालय दिपायल, प्राविधिक सहायक ५ दिनको बिदामा घर र सव इन्जिनियर बिरामी चेकजाँच गर्न काठमाडौं बिदामा गएको बुझिएको छ ।

त्यसै गरि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नं. ३ डोटी, फिल्ड कार्यालय बाजुरामा एक खानेपानी टेक्निसियन, एक सिनियर टेक्निसियनको दरबन्दी र करार ३ जना कार्यालय सहयोगी भएपनि अहिले एक जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय स्रोतका अनुसार दुई जना टेक्निसियन कार्यालयको काममा दिपायल गएको जनाएको छ ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालयमा प्रमुखको मात्रै दरबन्दी रहेको र उनी पनि काज विदामा रहेका छन् । सूचना अधिकारी पदम बहादुर ऐरका अनुसार एक अप्रेटर, एक नाशु र दुई जना करार कार्यालय सहयोगीकै भरमा चलिरहेका जानकारी दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा ७ जनाको दरबन्दी रहेको अहिले लेखापाल र पाँचौ कार्यालयको काममा धनगढी गएको जनाएको छ ।
सबै भन्दा बढी चाप हुने जिल्ला अस्पताल बाजुरामा १८ जनाको दरबन्दी रहेको छ । जसमा ३ पद रिक्त रहेका छन १ जना मेडिकल सुपरिटेन्ट, १ जना सुब्बा र १ जना अहेव पद खाली रहेको कार्यालय प्रमुख समिता पुनले बताएकी छन । त्यसै गरी दुई जना स्टाप नर्स अध्यान बिदामा गएकोले कार्यालयको काममा समस्या हुने गरेको कार्यालय प्रमुख पुनले बताएकी छन । हाल एक जना कर्मचारी मात्र तालिम रहेका उनले बताएकी छन ।

जिल्ला हुलाक कार्यालयमा सबै भन्दा बढि समस्या भएको कार्यालयले जनाएको छ । १ सय ४८ जना दरबन्दी रहेको जिल्ला हुलाक कार्यालय बाजुरामा हाल ५६ जनाको मात्र पदपुर्ति रहेको कार्यालयले जनाएको छ । जिल्ला हुलाक कार्यालय बाजुरामा हुलाक अधिकृत समेत नभएको पाईएको छ । नासु दुई जना हुनुपर्नेमा १ जना मात्र छन् । खरिदार १० जनामा ४ जना, हुलाकी ४३ जनामा ३ जना र २८ जना करारमा रहेका छन । त्यसै गरी हल्कारा १८ जनामा दुई जनाको पदपुर्ती र ७ जना करारमा रहेका छन । हुलाक प्रतिनिधी १७ जनाको दरबन्दी हुनुपर्नेमा ११ जनाले मात्रै काम गरिरहेका छन । त्यसै गरि पत्र बितरकमा १८ जनको दरबन्दीमा १४ जना कार्यरत र डाँक बहाक ४० जनाको दरबन्दीमा २१ जना मात्रै रहेको जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाजुरामा ११ जनाको दरबन्दी रहेको छ । जसमा ४ पद रिक्त रहेका छन भने ३ जना करारमा रहेका छन । बिदामा २ जना रहेका छन । जिल्ला निर्बाचन कार्यालय बाजुरामा ७ जनाको दरबन्दी रहेकोमा निर्वाचन अधिकृत र कम्पुटर अपरेटरको पद रिक्त रहेको निमित्त कार्यालय प्रमुख अंगत महतले बताए ।

जलश्रोत तथा सिचाई विकास सव डिभिजन कार्यालय बाजुरामा ७ जनाको दरबन्दी रहेकोमा सबै पदपुर्ती रहेको जनाएको छ । साउन महिना सुरु भए देखी १ जना सि.ए ओ. र कार्यालय सहयोगी मात्र कार्यालय उपलब्ध रहेका छन । समाचार संकलनको क्रममा बडिमालिका खवरले कृषि ज्ञान केन्द्र बाजुरा र डिभीजन बन कार्यालयमा कार्यलय सहयोगी बाहेक अन्य कर्मचारी फेला नपारेको कारण सूचना लिन सकिएको छैन् ।

त्यस्तै ८ जनाको दरबन्दी रहेको जिल्ला कारागारमा नासु १ जना खरिदार १ जना सलेप १ गरी ३ जना स्थायी र अहेव १ जना र कार्यालय सहयोगी ४ जना करार गरी ५ जना कार्यरत रहेका छन् । आर्थिक बर्ष सकिएसंगै मन्त्रालयमा काम भएको र गाडी मर्मत गर्नु पर्ने कारण देखाउदै असार २८ गते विदामा रहेका छन् ।

त्यस्तै नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख लोकबहादुर खड्काले आफुले कार्यालयका कर्मचारीको बिषयमा बोल्न नहुने भन्दै पन्छिएका छन् । उनले भने हामीलाई कार्यालयको सुचना दिनेबारे अनुमती दिएको हुदैन । जिल्ला अदालतमा बाजुरामा २८ जना कर्मचारीको दरबन्दि रहेकोमा २० जना कार्यरत रहेका अदालतले जानकारी दिएको छ । जसमा १३ जना स्थायी र ७ जना करारमा कार्यरत छन् । जिल्ला अदालत बाजुरामा कार्यरत ७ जना कर्मचारी काजमा रहेका जिल्ला अदालत बाजुराले जानकारी दिएको छ । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठ विगत डेढ महिना देखि वैदेशिक भ्रमणका क्रममा बेलायतमा रहेका छन् । न्यायाधीश आउन अझै हप्ता दिन भन्दा बढी लाग्ने स्रोतले जनाएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति बाजुरामा उप सचिव १ जना अधिकृत १ जना इन्जिनियर १ जना सुब्वा १ लेखा १ जना उपसेयर १ जना सचिवालय नासु १ जना कार्यालय सहयोगी ३ जना र गाडी चालक २ जना गरी जम्मा १३ जना कर्मचारीको दरबन्दी रहेको छ । जस्मा उपसचिव, अधिकृत र इन्जिनियरको दरबन्दी खाली रहेको छ । सुब्वा, लेखा र खरिदार स्थायी रुपमा कार्यरत छन भने अरु सबै करारमा कार्यरत रहेका छन् ।

अहिले तत्काल चालु आवका काम सुरु नहुने र कार्यालयमा पनि खासै काम नहुने भएकोले बिदामा जानु स्वभाविक रहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडलले बताएका छन् । साउनमा धेरै काम पनि नहुने र बार्षिक कार्यक्रम सकेर तत्काल नयाँ कार्यक्रम संचालन हुन समय लाग्ने भएकोले अधिकां सरकारी कार्यालय प्रमुख तथा कर्मचारीहरु बिदामा रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार