• होमपेज
  • बडिमालिका
  • बाजुरामा रोपाई सकियो

बाजुरामा रोपाई सकियो

  • बिहिबार, साउन १०, २०८१
बाजुरामा रोपाई सकियो

टेकबहादुर बुढा, १० साउन—बाजुरा जिल्ला यस बर्ष समयमै रोपाई सकिएको छ । जिल्लामा जेठको अन्तिम सातादेखि सुरु भएर साउनको पहिलो सातासम्म रोपाई सम्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाभर ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफल जमिनमा रोपाई भएर सय प्रतिशत रोपाई सम्पन्न भएको छ ।

जिल्लामा रोपाई सुरु हुने समयमा खडेरी परेपनि असारको महिनाभरि पर्याप्त बर्षा भएकाले गत बर्षको तुलनामा यस बर्ष समयमै रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख भूमिराज उपाध्यायले बताएका छन् । उनका अनुसार बाजुरामा ७ हजार ३ सय ३ हेक्टर क्षत्रफल जमिनमा रोपाई हुदैं आएको छ ।

जिल्लामा सबैभन्दा धेरै बडिमालिका नगरपालिकामा एक हजार ९ सय ५२ हेक्टर क्षेत्रफल जमिनमा रोपाई हुन्छ भने सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा एक सय हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताए । त्यसैगरि बुढीगंगामा एक हजार ५०, खप्तड छेडेदह गाउँपालिकामा ९ सय ९०, त्रिवेणीमा ९ सय ५६, बुढीनन्दामा ७ सय ७५ हेक्टर क्षेत्रफल जमिनमा रोपाई हुने गरेको जानकारी दिए । गौमुल गाउँपालिकामा ५ सय ३०, हिमालीमा ५ सय, स्वामिकार्तिक खापरमा ४ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपाई हुदैँ आएको छ ।

जिल्लामा सिंचाइको सुविधा भएका स्थानमा समयमै रोपाई भएपनि आकाशे पानीको भरमा रोपाई हुने खेतियोग्य जमिनमा ढिला गरी रोपाई सुरु भएको थियो ।

बाजुरामा सिचाइको सुविधा नहुँदा किसानहरुले आकाशे पानीको भरमा धान रोपाइ गर्नुपर्ने बाध्यता रहदै आएको छ । बाजुरामा कुल कृषि योग्य जमिनको १८ प्रतिशत जमिनमा मात्रै सिचाईको सुविधा पुगेको छ भने बाँकी ८२ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेति गरिदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार