• होमपेज
  • बडिमालिका
  • बाजुराका तीन ठाउँमा विपद पूर्व तयारी सामग्री मौजाद राखिने

बाजुराका तीन ठाउँमा विपद पूर्व तयारी सामग्री मौजाद राखिने

  • आइतवार, असार ३०, २०८१
बाजुराका तीन ठाउँमा विपद पूर्व तयारी सामग्री मौजाद राखिने

टेक बहादुर बुढा/ बाजुरा– बाजुराका तीन स्थानमा विपद् पूर्व तयारी सामग्रीहरु मौजाद राखिने भएको छ । शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाजुराको बुढीगंगा नगरपालिका, सदरमुकाम मार्तडी र उत्तरी क्षेत्रका लागि कोल्टीमा विपद पूर्व तयारी सामान मौज्जाद राख्ने निणर्य गरेको हो ।
जिल्लामा बर्षायमको समयमा हुने विपद्जन्य घटनाको पुर्व तयारीका लागि तीन स्थानमा नेपाल रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन समितिसँग भएको ८० सेट सामग्री मौजाद सुरक्षा निकायको जिम्मामा राखिने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिएका छन् । उनका अनुसार ती स्थानमा पूर्व तयारी सामग्रीमा त्रिपाल, कम्मल, भाडाकुडाँ लगायतका राहत तथा उद्धारका सामान मौजाद राखिने भएको छ ।
त्यस्तै जिल्ला विपद् व्यवस्थापनको बैठकले विपद्जन्य घटनाको पुर्व तयारीका लागि विपद् व्यवस्थापन प्रतिकार्य योजना तयारी समेत गरेको छ । सबै सरोकारवालहरुसँग छलफल गरेर बर्षायममा हुन सक्ने घटना तथा अवरुद्ध सडक सुचारुका लागि जिल्लाको तल्लो भेगमा सडक डिभिजन र माथिल्लो क्षेत्रमा पूर्वाधार विकास कार्यालयको जिम्मा लगाएर विभिन्न ठाउँमा डोजर, स्काइभेटर तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बर्षायमको समयमा जिल्लामा खाद्यान्न तथा नुनको अभाव हुन नदिन समयमै व्यवस्थापन गरिसकेको उनको भनाई छ ।
त्यसैगरि विपद्को समयमा राहत वितरण गर्नु पूर्व अनिवार्य रुपमा एकद्धार प्रणाली मार्फत जिल्ला विपद व्यवस्थापन समितिको अनुमति लिनु पर्ने निणर्य गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार