कञ्चनपुर — कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ मा जमेको पानीमा नुहाउने क्रममा ३ जना किशोरीको मृत्यु भएको छ । उनीहरुको सोमबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार १५ वर्षीया सृजना बोगटी तथा १६ वर्षी लक्ष्मी बोगटी र आरती बोगटीको मृत्यु भएको हो ।
यसैगगरी कृष्णपुर नगरपालिका-१ पहरीमा घरभित्र पानी पस्दा ७ महिने शिशु सोनु धानुकको मृत्यु भएको छ । आइतबार दिउँसो माछा मार्ने क्रममा बेलडाडी-५ झिममिलाका डम्बर चौधरी चौधर नदीमा बगेर बेपत्ता भएका छन् ।
बेलडाडी-३ का चौधरी ६ जनासंगै चौधर नदीमा माछा मार्न गएका थिए । उनको खोजी कार्य जारी रहेको डिएसपी जोशीले बताए । बाढी र डुबानका कारण जिल्लाभरिमा ९ सय परिवार विस्थापित भएका छन् । उनीहरु अहिले विद्यालय र आफन्तको घरमा आश्रय लिइ बसेका छन् । वर्षा रोकिएसंगै नदी नालामा पानीको बहाव घटेपछि डुबान कम हुन थालेका छ ।
महाकाली नदीमा पनि सोमबार साँझ पानीको वहाव घटेको छ । प्रहरीका अनुसार अहिले पानीको वहाव १ लाख ५५ हजार क्युसेक पुगेको छ । अझै पनि शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधनको आवागमन भने सुचारु भएको छैन ।