• होमपेज
  • समाचार
  • रवि लामिछानेको मुद्दामा न्यायाधीशको राय बाझिँदा सर्वोच्च अनिर्णित

रवि लामिछानेको मुद्दामा न्यायाधीशको राय बाझिँदा सर्वोच्च अनिर्णित

  • शुक्रबार, असार २१, २०८१
रवि लामिछानेको मुद्दामा न्यायाधीशको राय बाझिँदा सर्वोच्च अनिर्णित

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै आदेश दिने क्रममा राय बाझिएपछि सर्वोच्च अनिर्णित भएको हो । मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा बिहीबार जवाफी बहस सकिएसँगै आदेश आउनुपर्ने थियो ।

तर दुई न्यायाधीशबीच राय बाझिएपछि अब यो मुद्दा अर्को इजलासबाट टुंगो लगाउने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले खबरहबलाई बताए । उनका अनुसार यो मुद्दाको छिनोफानोका लागि अब सर्वोच्चले कम्तीमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलास गठन गरेर बहुमतका आधारमा निर्णय दिने छ । अधिवक्ता अनुप भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। बुधबार पनि अधिवक्ताहरूले जबाफी बहस गरेपछि आदेश आउने भनिएको थियो । तर नसकिएपछि बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

अधिवक्ता भट्टराईले दायर गरेको रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता दीनमणि पोखरेलको पत्र खारेज गर्नसमेत माग गरिएको थियो । यो रिटमा अधिवक्ता भट्टराईले रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार