• होमपेज
  • प्रदेश ६
  • रानीसैनमा भीस्याट प्रविधिबाट टेलिफोन सेवा सञ्चालन

रानीसैनमा भीस्याट प्रविधिबाट टेलिफोन सेवा सञ्चालन

  • सोमवार, असार १७, २०८१
रानीसैनमा भीस्याट प्रविधिबाट टेलिफोन सेवा सञ्चालन

बाजुरा— नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो ।

बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोट देखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय बासिन्दाले बताएका छन् । योभन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने छन् ।

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात् त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिब चार दिन सम्म मानिसले बोकेर रानीसैन पुर्‍याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, सङ्खुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार