मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • समाचार
  • २० असारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा ‘रेड अलर्ट’

२० असारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा ‘रेड अलर्ट’

  • सोमवार, असार १७, २०८१
२० असारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा ‘रेड अलर्ट’

मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् । अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् ।

यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ । गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।

बिगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको भनाइ छ । यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो । सो न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको हो ।

विभागका मौसमविदहरुका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

यी हुन् मध्यम जोखिममा परेका जिल्ला

यो मौसमी घटनाबाट कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २६ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

मध्यम जोखिमको सूचीमा कोशीको उदयपुर तथा मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी छन् ।

बागमतीका रामेछाप र सिन्धुली तथा गण्डकीको मनाङलाई पनि जल तथा मौसम विज्ञान विभागले मध्यम जोखिमको सूचीमा राखेको छ ।

लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेख पनि मध्यम जोखिममा छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ र बैतडी जिल्ला पनि मध्यम जोखिमको संकेत स्वरुप यलो अलर्टको सूचीमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असार १७ गतेदेखि २० गतेसम्म रेड र यलो अलर्ट जारी भएका जिल्लाहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदीनाला एवम् खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना समेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।वर्षा र बाढीबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सबैलाई अनुरोध गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार