• होमपेज
  • देश
  • बाजुरा कारागारमा चरेसकाे कारोबार, सहजै पुग्छन मोवाइल र सिम

बाजुरा कारागारमा चरेसकाे कारोबार, सहजै पुग्छन मोवाइल र सिम

  • शुक्रबार, असार १४, २०८१
बाजुरा कारागारमा चरेसकाे कारोबार, सहजै पुग्छन मोवाइल र सिम
बाजुरा—बाजुरा कारागार भित्र चरेसको कारोबार हुने गरेको एक स्रोतले बताएको छ । खानेकुरा तथा अन्य सामान कैदीलाई पुर्याउने बाहनामा सामान भित्र चरेस जाने गरेको एक कैदीले बताएका छन् । 
बाहिर प्रहरी वा कर्मचारी कसको मिलोमतो हुन्छ, जानकारी हुदैन्, तर भित्र चरेस खुलेआम रुपमा पाइने गरेको नाम नभन्ने सर्तमा एक कैदीले बताए ।
त्यस्तै कारागार भित्र मोवाइल सेट र सिम समेत जाने गरेको पाइएको छ । बाहिर सस्तोमा पाइने भएपनि महँगो मूल्यमा भित्र कैदीलाई बिक्री हुने गरेको कैदीले वताएका छन् ।  केही दिन पहिला मात्र कैदीबन्दी भेट्न पुगेका २ जना चरेससहित पक्राउ परेका थिए । आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न पुगेका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेस सहित पक्राउ परेका थिए । आफन्तलाई भेट्न आएका दुवैले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्दा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार चाउचाउमा लुकाएर करिब २ दशमलव ५ ग्राम चरेस बरामद गरिएको थियो ।
चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । पक्राउ परेका दुवै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
एक जना कैदीले भने प्रहरीलाइ छलेर हो की के हो, प्रायः जसो सधै भित्र चरेस आउने गर्छ । कारागार कार्यालय बाजुराका जेलर अनिल कुमार तिवारीले कारागारमा चरेस र फोन जाने आशंका पछि चेकजाँचमा कडाइ गरेको बताएका छन् । जेलर तिवारीले आफु आएको अढाइ महिनामा तिन पटक छापा हान्दा १२ वटा एनरोड मोवाइल सेट फेला पारेको बताए । हामीले चारैतिर सिसि क्यामरा राखेर कडाइका साथ चेकजाँच गरिरहेका छाै, पहिला के भएको थाहा छैन्, अहिले चरेस र फोन भित्र जानेमा कडाइ गरेको उनकाे भनाई छ । 
बाजुरा कारागारमा २५ जनाको क्षमता भएको जीर्ण कारागार भवनमा ६१ जना कैदी बन्दी राखिएको छ । क्षमता भन्दा बढी कैदीबन्दी हुदा खाना र शौचालयको समेत समस्या भएको कैदीबन्दीहरुले वताएका छन् । 
२०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बनेको भए पनि मर्मतको पहल कतैबाट हुन सकेको छैन ।  क्षमता भन्दाबढी कैदी र थुनुवा  हुलेपछि अहिले उनीहरूलाई सुत्न त के बस्नलाई पनि निकै समस्या भएको छ । जेलर तिवारीका अनुसार एक खाटमा पाँच, छ जना सुत्नुपर्ने अवस्था  र खाटमाथि खाट राखेर सुताउनु परेको अवस्था रहेको बताए ।
कारागारको प्रशासन भवन भाडामा लगिएको छ, भने सुरक्षाका लागि खटिएका प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएका छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुदा बिभिन्न सरुवा रोगहरु फैलिने सम्भाबना रहेको बाजुरा कारागारले बताएको छ । 
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदी राख्दा खाना, शौचालय पानी लगायत विभिन्न समस्या भोग्न बाध्य भएको कैदी विशाल बिकले बताएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूलाई बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेको कैदीबन्दीहरुको  भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार