• होमपेज
  • समाचार
  • बझाङमा पहिरोले घर–खेत च्यापियो

बझाङमा पहिरोले घर–खेत च्यापियो

  • शुक्रबार, असार १४, २०८१
बझाङमा  पहिरोले घर–खेत च्यापियो

बझाङ-– बझाङको सूर्मा गाउँपालिका–२ भ्यालढुङ्गाका मीनबहादुर बोहराको घर माथिबाट आएको पहिरोमा पुरियो। पक्की घर माथिको सडकबाट आएको माटो र ढुङ्गाले पुरिएको हो।
बुधवार रातिको पहिरोमा घर पुरिएपछि १५ लाख बराबरको क्षति भएको छ। प्रहरीको प्रतिवेदनका आधारमा मीनबहादुर गाउँपालिकाको कार्यालयसम्म पुगेका छन्। क्षतिपूर्तिका लागि उनी गाउँपालिका गएका हुन्। उनले भने, ‘अध्यक्षलाई सडक नकाट्न भनेको थिए। तर, मान्नु भएन। सडकका कारण मेरो घर पुरिएको छ। प्रहरीले प्रतिवेदन दिएको छ। क्षतिपूर्तिका लागि पालिका आएको छु। क्षतिपूर्ति दिएनन भने, मुद्‍दामा जाने हो।’
चैनपुर–सूर्मा सडकका कारण मीनबहादुर बोहराको घरसहितको मकैबारी, दीर्खबहादुर बोहरा र रामलाल बोहराको मकैबारीमा पहिरोले क्षति गरेको हो। वातावरणीय प्रभाव मूल्याङ्कन नगरेर गाउँपालिकाले निर्माण गरेका सडकको माटो र ढुङ्गाले पहिरो गएको हो। नयाँ सडक निर्माण गर्दा डोजरले खनेको माटो र ढुङ्गा वर्षातको पानीले स्थानीयको घर तथा बारीसम्म बगाएकाले क्षति भएको स्थानीय सुवास बोहराले बताए। उनले भने, ‘गत रातिको पहिरोले घर बस्ती पुरिएको हो। चैनपुर–सुर्मा सडकका कारण पहिरो गएको हो। हाम्रो तिर मनोमानी रूपमा सडक निर्माण हुने गरेका छन्।’
जिल्लाका स्थानीय तहहरूले मनोमानी रूपमा सडक निर्माण गर्ने गरेका छन्। वातावरणीय प्रभावको मूल्याङ्कन तथा सडकको विस्तृत योजना प्रतिवेदनसमेत निर्माण नगरेर डोजर चालकहरूले नयाँ सडक निर्माण गर्ने गरेका हुन्। स्थानीय तहका जनप्रतिनिधि, स्थानीय नेता तथा डोजर चालकहरूको मोडको आधारमा नयाँ सडकको ट्याक निर्माण गर्ने गरिएको छ। तर, सूर्मा गाउँपालिका–२ का वडा अध्यक्ष खडक बोहराले पहिरोले घर च्यापिएको बताए। उनले भने, पहिरोले घर च्यापिएको हो। बगाएको छैन। सडकका कारणले मात्र होइन। अत्यधिक पानी आएर पहिरो गएको हो।
सुदूरपश्चिमका पहाडी जिल्लामा निर्माण गरिने सडकका कारण पहिरो जाने गरेको छ। पहिरोले मानवीय तथा भौतिकसँगै वन क्षेत्रको पनि नोक्सानी गर्दै आएको छ। तर, सडक निर्माणको मनोमानी रोक्न कसैको ध्यान गएको छैन। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार