• होमपेज
  • समाचार
  • देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु

देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु

  • बिहिबार, असार १३, २०८१
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु

बाढी, पहिरो र चट्याङका कारण बुधबार देशभर १४ जनाको मृत्यु भएको छ । पहिरोबाट ८ जना, चट्याङबाट ४ जना र बाढीले बगाएर दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण लमजुङ, कैलाली, विराटनगर, कास्की, कपिलवस्तु, तनहुँ र ओखलढुंगामा १८ जना घाइते भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ मा आँधीखोलाले बगाउँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार मृत्यु हुनेमा सूर्य भण्डारी छन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ ।

कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–३ भितरिया बस्ने ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय शालिम चौधरी छन् । खेतमा काम गर्दा चट्याङ परेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए । कैलालीमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जानकी गाउँपालिका–४ बस्ने २९ वर्षीय रिता कठरिया, २३ वर्षीय सुस्मा डगौरा, भजनी नगरपालिका घर भएका ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी बस्ने ९ वर्षीय सरस्वती भुल र ७ वर्षीय पारु कठायत छन् । घोडाघोडी–९ घर भएकी १० वर्षीय खिमा काठायत पनि घाइते भएकी छन् ।

मोरङको रंगेली नगरपालिका वडा नम्बर–४ मा घाङी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ४५ वर्षीय नागेन मण्डलको मृत्यु भएको मोरङका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । मंगलबार बुढी खोलाले बगाएको दुई जनाको अवस्था अझै अज्ञात छ । अविरल वर्षासँगै आएको बाढी विराटनगर महानगरपालिका–६ स्थित बस्तीमा पसेको छ । बाढीका कारण करिब ५ सय परिवार विस्थापित भएका छन् । विराटनगर–१२ मा ६० वटा घर डुबेका छन् ।

लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति गएको पहिरोका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार छन् । पहिरोमा परेर १८ वर्षीय मिलन सुनार घाइते भए । पहिरोका कारण बेसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको क्वहोलासोथर गाउँपालिका–३ मा पहिरोमा परेर ६९ वर्षीय रुद्रमान गुरुङसहित ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्युटोलमा पहिरो जाँदा ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीय छोरी नम्रता र ७ वर्षीय इच्छा गुरुङको मृत्यु भएको छ ।

कास्कीको मादी गाउँपालिकामा पहिरोमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका घर हुने १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका २३ वर्षीय अनमोल सुनार छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् । त्यस्तै, पोखरा महानगरपालिका–१४, चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको सो सडक एकतर्फी खुला गरिएको छ ।

चितवनको माडीस्थित मगै खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ । माडी नगरपालिका–५ बस्ने ४५ वर्षीय रणबहादुर कामी बेपत्ता भएको चितवनका एसपी भावेश रिमालले रातोपाटीलाई बताए । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्कीमा पहिरो जाँदा ३५ वर्षीय देव कुमारी खत्रीको मृत्यु भएको छ । ओखलढुंगामा पहिरोका कारण दुई जना घाइते भएका छन् ।

कपिलवस्तुमा चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–८ घर भएका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका घर भएका १८ वर्षीय राजु ठाकुर छन् । नवलपरासी पूर्वमा पनि चट्याङ परेर एक जना घाइते भएका छन् । दैलेखस्थित भैरवी गाउँपालिकामा चट्याङ लागेर ५५ वर्षीय धीरबहादुर शाही र २६ वर्षीय कुसुम शाही घाइते भएका छन् ।

विराटनगर विमानस्थल सुचारु

वर्षाका कारण अवरुद्ध भएको विराटनगर विमास्थल सुचारु भएको छ । पानीको मात्रा सतहबाट माथि आएपछि बन्द भएको विमानस्थल अहिले सुचारु भएको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार