• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

  • सोमवार, जेष्ठ २८, २०८१
सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय फुटाउने तयारी गरेका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सरकारमा जान तयार भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई समेट्न तीन वटा मन्त्रालय फुटाउदैछन् ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी छ ।

सरकारले भौतिक पूर्वाधारलाई फुटाएर सहरी, उर्जा खानेपानी तथा सिचाई मन्त्रालय बनाउने, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग, पर्यटन मन्त्रालय बनाउने तयारी गरेको छ ।

त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरी मस्यौदा बनेको स्रोतको दाबी छ । सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी पार्टीका उपनेता प्रकाश रावलले पनि मन्त्रालय फुटाएर कार्य विभाजन गर्दै सरकारलाई पूर्णता दिने विषयमा समझदारी जुटेको बताए ।

रावलले सोमबार प्रदेश सरकारले पूर्णता पाउने जानकारी दिए । तर कुन–कुन मन्त्रालय फुटाइदैछ भन्ने कुरा भने उनले खुलाएनन् । नेकपा एमालेका नेताहरुले सोमबार प्रदेश सरकारले पूर्णता पाउने जनाएको छ ।

यसअघि पार्टी केन्द्रको निर्देशन पर्खिरहेको बताउने एमालेले शीर्ष तहमा सरकारमा जाने सम्बन्धमा समझदारी बनेकाले सरकारमा सहभागी हुने बताएको हो । प्रदेश सभा सदस्य धर्मराज पाठकले सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न सोमबार प्रदेश संसदीय दलको बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार एमाले तीन मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ तर कुन–कुन मन्त्रालय भन्ने कुरा खुलाइएको छैन ।

एमालेले आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधारबाट विभाजन भएर बन्ने शहरी, ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा दाबी गरेको स्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार