अछाम —अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीयका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।
पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको साउदले जानकारी दिए । ‘अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’
साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।