काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
इलाममा विभिन्न १२ दल तथा सात स्वतन्त्र गरी १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।
बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।
मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार दुई सय सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । यस्तै, ६ सय ५१ कर्मचारी परिचालन गरिएको जनाइएको छ ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।