• होमपेज
  • शिक्षा
  • सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

  • बिहिबार, चैत्र २९, २०८०
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

धनगढी— जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ। नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत केन्द्रले पुस्तक बिक्री वितरण गरेको हो।

उक्त पुस्तक बिक्री वितरणबाट रु १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बताए। उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले बताए। ‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही छुटेका ठाउँमा पनि शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउँछौँ’, उनले भने, ‘हामीसँग पाठ्यपुस्तक पर्याप्त छ। कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ।’

केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो। कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री वितरण गर्दै आएकामा आगामी शैक्षिकसत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले बताए।

चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार