आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले तानसेनको नयाँ अभियान, भाषणको साटो कृषकलाई व्यावसायिक तालिम

एमाले तानसेनको नयाँ अभियान, भाषणको साटो कृषकलाई व्यावसायिक तालिम

  • शनिबार, चैत्र १०, २०८०
एमाले तानसेनको नयाँ अभियान, भाषणको साटो कृषकलाई व्यावसायिक तालिम

तानसेन– राजनीतिक दलका नेताको भाषणले वाक्क बनेका तानसेनवासीले शुक्रबार भने फरक महसुस गरे। सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानका साथ नेकपा एमाले तानसेन नगर कमिटीले तानसेनभित्रका कुखुरापालक कृषकलाई एक दिने तालिम सञ्चालन गर्‍यो।

एमाले तानसेन नगर कमिटीले नगरभित्रका १४ वटा वडाभित्रका ५१ जना कुखुरापालक कृषकलाई तालिम दिएको हो। जनतालाई आर्थिक रुपमा माथि उठाउँदै उनीहरूको जीवनस्तरमा सुधार ल्याउन कमिटीले अभियान अघि बढाएको हो।

तालिमको संविधानसभा सदस्य नारायणी शर्मा घिमिरेले शुभारम्भ गरिन्। तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका पूर्व प्रमुख पशु चिकित्सक डा. चन्द्र बहादुर रानाले पाल्पाको व्यावसायिक कुखुरा पालनको अवस्था, कुखुरामा लाग्ने रोग, रोग तथा बच्ने उपाय, औषधी उपचार, कुखराका लागि आवश्यक पर्ने दाना पानी, व्यवस्थित खोर निर्माण लगायतका विषयमा कृषकसँग छलफल गर्दै सहजीकरण गरे।

कुखुरा पाल्दा ध्यान दिनुपर्ने कुराहरू, मौसम तथा बजारको पूर्व आकलन, राम्रो खोरको व्यवस्थापन, कुखुरा पाल्दा आइपर्ने समस्याहरूका समाधानका विषयमा पशु चिकित्सक डा. चन्द्र बहादुर रानाले कृषकहरूलाई जानकारी दिए।

तालिममा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्राविधिक युवराज ज्ञवालीले कुखुरापालक कृषकहरूले सरकारी स्तर बाट पाइने सेवा सुविधा तथा फर्म दर्ता, कुखुराको बजारको अवस्था बारेमा जानकारी गराएका थिए। तालिममा एनआईसी एसिया बैंक तानसेन शाखाका प्रमुख हरिकृष्ण शर्माले समग्र कृषि तथा पशुपालन क्षेत्रमा बैंकले गर्दै आएको लगानी, सहुलियत ऋणको अवस्था, ऋण लिन कृषकहरूले अपनाउनुपर्ने विविध कुराहरू, ब्याजदरको अवस्था, कृषि तथा पशुमा क्षेत्रमा गरिने बिमाहरूको बारेमा जानकारी गराएका थिए।

कमिटीले कृषकहरूको आयआर्जन बढाउन कुखुरापालक कृषकहरूलाई तालिम प्रदान गरेर राम्रो कामको सुरुवात गरेको तालिममा सहभागी तानसेन नगरपालिका-५ की मञ्जु बस्यालले बताइन्। पशु विज्ञ, पशु चिकित्सकबाट पाएको तालिम र ज्ञान प्रभावकारी भएको तालिममा सहभागी महिला, तानसेन नगरपालिका-१० की विष्णु पौडेलले बताइन्।

तालिममा कुनै पनि भाषण नगरिएको कमिटीका अध्यक्ष गुराँस आत्रेयले बताए। ‘जनतालाई सुखी र समृद्ध बनाएर मात्र देश बन्न सक्छ। वैदेशिक रोजगारमा लागेको लर्कोलाई रोक्न सकिन्छ भनेर हामीले तालिम सञ्चालन गरेका हौं,’ उनले भने।

यसबाट राजनीतिक दलहरूमा नयाँ अभियानको सुरुवात भएको अध्यक्ष आत्रेयले बताए। कुखुरापालनसँगै कृषकको मागका आधारमा आगामी अन्य आयआर्जनका कार्यक्रमहरू पनि सञ्चालन गरिने कमिटी सचिव महेशलाल शाक्यले बताए।

चर्चामा

सम्बन्धित समाचार