काठमाडौं— नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ ।
बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो ।
नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको आक्रामक इनिङ खेलिन् ।
नेपालले ओपनर सीता रानामगरलाई ६ रनमा गुमाएको थियो । महिराह इजाती इस्लामीको बलमा सीता एलबीडब्लू आउट हुँदा नेपाल ४ ओभरमा १०–१ को अवस्थामा थियो ।
दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । इन्दु एक रनको लागि नदौडिएपछि कविता रन आउट भएकी थिइन् । कविता ३१ बलमा २ चौकासहित २३ रन आउट भइन् ।
रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।
मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् ।
यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछ ।
पहिलो सेमिफाइनमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ ।