• होमपेज
  • राजनीति
  • ओलीले भने- टाउकामा बम हान्ने र मूल्य तोक्ने सँगै सरकारमा छन्, पीडितले कसरी न्याय पाओस्

ओलीले भने- टाउकामा बम हान्ने र मूल्य तोक्ने सँगै सरकारमा छन्, पीडितले कसरी न्याय पाओस्

  • मङ्लबार, फाल्गुन १, २०८०
ओलीले भने- टाउकामा बम हान्ने र मूल्य तोक्ने सँगै सरकारमा छन्, पीडितले कसरी न्याय पाओस्

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुंगो लगाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले पीडितलाई अन्याय हुनेगरी सङ्क्रमणकालीन न्यायको विषय टुंगिन नसक्ने बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नरहेको उनको भनाइ छ। त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडितमाथि अन्याय गरिएको उनले बताए।

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै उनले अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे। ‘राज्यबाट मानव अधिकार उल्लघंन गर्ने पनि सरकारमै छन्। विद्रोही भनिएकाहरू पनि अहिले सरकारमै छन्। दुवै सरकारमा शासक भएका छन्। टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने सँगै सरकारमा छन्। लडाइँ केका लागि भनेको त दुई-दुई वर्ष प्रधानमन्त्रीका लागि रहेछ,’ उनले भने।

राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लंघन गर्ने एमालेको नीति नरहेको उनले प्रष्ट पारे। एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनुपर्ने उनले बताए।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए। सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार