• होमपेज
  • प्रदेश ७
  • मुख्यमन्त्री सचिवालयका कर्मचारीले खर्चिए हवाई टिकटमा दुई लाख तीन हजार

मुख्यमन्त्री सचिवालयका कर्मचारीले खर्चिए हवाई टिकटमा दुई लाख तीन हजार

  • मङ्लबार, फाल्गुन १, २०८०
मुख्यमन्त्री सचिवालयका कर्मचारीले खर्चिए हवाई टिकटमा दुई लाख तीन हजार

धनगढी–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सचिवालयका कर्मचारीहरूले समेत सरकारी रकममा विमान चड्दै आएको पाइएको छ। मुख्यमन्त्री शाहसँग र अन्य समयमा समेत ती कर्मचारीहरुले सरकारी बजेटमा विमानको टिकट तथा दैनिक भत्ता लिने गरेको पाइएको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तथ्याङ्क अनुसार धनबहादुर शाही, टेकराज कठायत, जयराम चौधरी, रामबहादुर विष्ट, पुरन साउँद, उत्तमकुमार शाह, चन्द्रबहादुर विक, धर्मबहादुर बुढा र पुरनबहादुर बोहराले टिकट र भत्ता बाफतको रकम बुझ्दै आएका छन्।

उनीहरूले धनगढीदेखि काठमाडौँ र काठमाडौँदेखि धनगढी उड्न सरकारी रकम खर्च गर्दै आएका हुन्। गत वर्षको फागुनयता २ लाख ८९ हजार पाँच सय ६४ रुपैयाँको हवाई टिकट र भत्तामा मात्र खर्च गरेका छन्। सचिवालयका कर्मचारी काठमाडौँ पठाउदाँ दैनिक भत्तामा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको ८६ हजार पाँच सय ५० रुपैयाँ खर्च भएको छ।

मुख्यमन्त्री शाहको सचिवालयका कर्मचारी गाडी मर्मतका लागि समेत विमान चडेर काठमाडौँ गएका छन्। उनीहरू मुख्यमन्त्रीको निवास व्यवस्थापन, मुख्यमन्त्रीको विशेष काम, सरकारी काम र मुख्यमन्त्रीको टोलीसँग काठमाडौँ जाने गरेका छन्। मुख्यमन्त्री शाह मात्र एक वर्षमा २२ पटक सङ्घीय राजधानी गएका छन्। उनले हवाई टिकट तथा दैनिक भत्तामा पाँच लाख ५६ हजार आठ सय २६ रुपैयाँ खर्च गरेका छन्। एक लाख ८१ हजार २ सय ५० रुपैयाँ उनको दैनिक भत्तामा खर्च भएको छ। दिनेशखवरबाट

चर्चामा

सम्बन्धित समाचार