आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • कप्तान विनोदको शतकसँगै आर्मीले मधेस प्रदेशलाई १२६ रनले हरायो

कप्तान विनोदको शतकसँगै आर्मीले मधेस प्रदेशलाई १२६ रनले हरायो

  • सोमवार, माघ १, २०८०
कप्तान विनोदको शतकसँगै आर्मीले मधेस प्रदेशलाई १२६ रनले हरायो

काठमाडौँ —कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको मद्दतले त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशलाई एक सय २६ रनको विशालअन्तरले हराएको छ ।

जारी प्रतियोगितामा आर्मी क्लबले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । दोस्रो खेल खेल खेलेको मधेस प्रदेशको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई सात विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ओभरमा सबै विकेट गुमाएर तीन सय २० रनको विशाल योगफल तयार पारेको थियो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले भने ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ९४ रनमात्र बनाउन सक्यो । मधेस प्रदेशका लागि पवन सर्राफले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ६५ रन बनाएका थिए । पवनले ८३ बलको सामना गरी तीन छक्का र सात चौका पनि प्रहार गरे ।

तल्लोक्रमका ब्याट्सम्यान राजेश यादबले पनि टोलीको खातामा अविजित ३२ रन थपे । उनले ४८ बलको सामना गरी पाँच चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान मयान यादबले पनि ३४ रनको जोडेका थिए । उनले ३२ बलमा ६ चौका प्रहार गरेका थिए ।

अर्का ओपनर अनिल शाह भने १२ रनमा आउट भएका थिए । कप्तान हरिशंकर शाह चार रनमै पेभेलियन फर्किएका थिए । रुपेश सिंहले १८ रन जोडे । विशाल पटेलले १७ रन बनाए । मधेस प्रदेशले अतिरिक्त रुपमा केवल आठ रन पाएको थियो ।

विभागीय टोली आर्मीका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३७ रन खर्चिएका थिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे । जितेन्द्र मुखिया र कुशल मल्लले पनि एक–एक विकेट लिए ।

त्यसअघि आर्मी क्लबका लागि कप्तान विनोदले एक सय १३ रनको योगदान गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले केवल ९३ बलको सामना गरी ६ छक्का र नौ चौका पनि हिर्काएका थिए ।

ओपनर सन्तोष कार्कीले पनि ४२ रन बनाएका थिए । उनले ५४ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अर्का ओपनर इमरान शेखले पनि २६ रन बनाए । भीम सार्की १८ रनमा पेभेलियन फर्किएका थिए ।

कुशल मल्लले पनि टोलीको खातामा ३७ रन थपे । उनले ४४ बलमा दुई छक्का र दुई चौका हिर्काए । बिवेक यादबले पनि ३७ रन बनाए । बसिर अहमद १६ रनमा आउट भए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो ।

मधेस प्रदेशका बलर रंजित कुमार एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिएका थिए । विशाल पटेलले पनि दुई विकेट हात पारे । रुपेश सिंह र राजेश यादबले पनि एक–एक विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार