• होमपेज
  • राजनीति
  • हुम्लाका माओवादी जनप्रतिनिधिले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

हुम्लाका माओवादी जनप्रतिनिधिले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

  • आइतवार, पुस २२, २०८०
हुम्लाका माओवादी जनप्रतिनिधिले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

सुर्खेत— टिकट वितरणमा नेताहरु हावी भएको भन्दै हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले मतदान नगर्ने निर्णय गरेको हो ।

हुम्लामा राष्ट्रियसभा सदस्य चुनावका लागि माओवादीबाट कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार, जुम्कित लामा, सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह मतदाता छन् ।

माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन् ।

माओवादीबाट हुम्लाका जिल्ला समन्वय समिति संयोजक डा. दिपेन्द्र रोकाया राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस भएका थिए । तर माओवादी पदाधिकारी बैठकले कर्णालीका लागि कालीकोटका विष्णु बिकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कर्णालीमा पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा परेका कारण यस पटक पार्टीको तर्फबाट राष्ट्रिय सभाको टिकट हुम्लाले नपाए मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको एक जनप्रतिनिधिले बताए ।

‘हुम्ला आफैंमा माओवादीको आधार इताका हो । तर राजकीय होस या पार्टीको सांगठनिक जिम्मेवारी जहिल्यै विभेदमा पर्दै आएको छ’, ती नेताले भने, ‘यो पटक पनि हुम्लालाई विभेद गरिएको छ । हुम्लाले टिकट नपाए सांगठनिक कामलाई समेत बहिस्कार गर्ने निचोडमा हामी पुगेका छौं ।’

माओवादी उपमहासचिवहरु जनार्दन शर्माले रुकुमपश्चिम, शक्तिबहादुर बस्नेतले जाजरकोट र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै अवसर केन्द्रित गरेका कारण हुम्ला पेलिँदै आएको ती नेताले बताए ।

चर्चामा

सम्बन्धित समाचार