मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • चेतन अयडी हत्याकाण्डका अभियुक्तलाई साधारण तारेखमा छाेड्न सर्वोच्चकाे आदेश

चेतन अयडी हत्याकाण्डका अभियुक्तलाई साधारण तारेखमा छाेड्न सर्वोच्चकाे आदेश

सर्वोच्चकाे आदेशप्रति चाैतर्फी विराेध

  • शुक्रबार, पुस २०, २०८०
चेतन अयडी हत्याकाण्डका अभियुक्तलाई साधारण तारेखमा छाेड्न सर्वोच्चकाे आदेश

बाजुरा —सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको  छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यो आदेश गरेको हो। २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो। त्यसबेलाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरिएको सर्वोच्चले जनाएको छ।

धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नुपर्ने सर्वोच्चले भनेको छ। उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए।

जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरूलाई सर्वोच्चले साधारण तारेखमा छाडिदिएपछि पीडित पक्षले असन्तोष प्रकट गरेको छ।

पीडितका बुवा गगन अयडी भन्छन्, ‘मेरो छोरो दोस्रोपटक मारियो। भिडिओमा प्रत्यक्ष देखिएका व्यक्तिलाई पनि साधारण तारेखमा छाडेर सर्वोच्चले अन्याय गरेको छ।’ सर्वोच्चकाे निर्णयप्रति अहिले सामाजिक सञ्जाल लगायत चाैतर्फी विराेध भइरहेकाे छ ।

सोही आदेशका बिरुद्ध आज नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले देशभर एकै साथ बिरोध प्रदर्शन गर्ने जनाएकाे छ। हिजोमात्रै सर्वोच्चको आदेश आएपछी सत्ताको आडमा पीडित परिवार माथि थप पिडा थप्ने काम गरेको भन्दै अनेरास्ववियुले देशभर प्रदर्शन गर्ने भएको हो । शुक्रवार बेलुका अनेरास्ववियुले देशभर प्रदर्शन गर्न लागेको अनेरास्ववियुले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार