शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

  • बिहिबार, पुस १९, २०८०
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं —नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति अनुसार दुई देशबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका हुन्।

चितवनमा बस्ने ११औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकले यसलाई अन्तिमरूप दिने स्रोतले बताएको छ। संयुक्त निर्देशक समितिको बैठक हरेक ६ महिनामा बस्ने गर्छ।

गत जेठको अन्तिम साता नै दीर्घकालीन पीपीएका लागि नेपाल–भारतबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि भदौमा दीर्घकालीन पीपीएको भारतको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भइसकेको छ। गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा ऊर्जा व्यापारमा ठूलो उपलब्धि भएको बताइएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगत्तै नेपाली अधिकारीहरूले दीर्घकालीन पीपीएको मस्यौदा भारत समक्ष पेस गरेको थियो।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री एस.जयशंकरको टोली आज बिहान काठमाडौं आइपुगेको हो।

चर्चामा

सम्बन्धित समाचार