शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • एउटा कानुन पनि नबनाइ बित्यो सुदूरपश्चिम प्रदेशसभाको एक वर्ष

एउटा कानुन पनि नबनाइ बित्यो सुदूरपश्चिम प्रदेशसभाको एक वर्ष

सांसदको तलब भत्तामा सकियो सवा ८ करोड

  • मङ्लबार, पुस १७, २०८०
एउटा कानुन पनि नबनाइ बित्यो सुदूरपश्चिम प्रदेशसभाको एक वर्ष
फाइल फाेटा

धनगढी— सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालका लागि ५३ जना प्रदेशसभा सदस्य निर्वाचित भएर पदभार ग्रहण गरेको शनिबार एक वर्ष पुगेको छ । ४ मंसिर २०७९ को निर्वाचनबाट गठन भएको प्रदेशसभा पहिलो बैठक १५ पुसमा बसेको थियो ।

ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका थिए । कानुन निर्माण गर्ने, जनसरोकारका विषय उठाउने र सरकारलाई खबरदारी गर्ने भूमिका निर्वाह गर्नुपर्ने प्रदेशसभाले यो वर्षमा बजेट पारित गर्ने र दुईवटा सरकार बनाउनेबाहेक कुनै काम गर्न सकेन ।

प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण, सभामुख र उपसभामुखको निर्वाचन, मुख्यमन्त्रीको विश्वास मत प्रयोजन र चालु वर्षको बजेट पारित गर्ने बाहेक यो अवधिमा प्रदेशसभाको धेरै बैठक पनि बसेको छैन ।

प्रदेशसभा सचिवालयकाअनुसार दोस्रो कार्यकालको पहिलो वर्षमा प्रदेशसभा बजेटसँग सम्बन्धित तीन वटा बाहेक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विद्येयक मात्र पारित गरेको छ ।

‘बहुमतको धङधङीमा रहेको गठबन्धन सरकारले प्रदेशसभालाई वास्ता नै गरेको छैन । कानुन निर्माण गर्ने र कार्यान्वयन गर्नेतर्फ कुनै ध्यान दिइएको छैन । संसदीय अभ्यास नै गरेको छैन, विषयगत समितिलाई पूर्णता दिएको छैन’, एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक बाहेक कुनै पनि ऐन, कानुन प्रदेशसभाबाट पारित नभएको बताए ।

उनका अनुसार प्रदेशसभामा छलफलका लागि समेत सरकारले अहिलेसम्म कुनै विधेयक दर्ता गरेको छैन । कतिसम्म भने प्रदेशसभाले गठन गर्नुपर्ने विषयगत समितिले समेत पूर्णता पाउन सकेको छैन । ज्येष्ठ सदस्यकै भरमा विषयगत समितिको बैठक बस्ने गरेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा पदाधिकारी र सदस्यहरुको सेवा सुविधा वापत एक वर्षमा आठ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।

अघिल्लो वर्षको १५ पुसदेखि असार मसान्तसम्म पाँच करोड ७३ लाख रुपैयाँ सेवासुविधामा खर्च भएको थियो भने गत साउनदेखि कात्तिकसम्म दुई करोड ३७ लाख रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले सभालाई वास्ता गरेन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको अकर्मण्यताका कारण प्रदेशसभाले एक वर्षमा कुनै पनि काम गर्न नसकेको बताएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले कानुन निर्माण र कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए ।

‘बहुमतको धङधङीमा रहेको गठबन्धन सरकारले प्रदेशसभालाई वास्ता नै गरेको छैन । कानुन निर्माण गर्ने र कार्यान्वयन गर्नेतर्फ कुनै ध्यान दिइएको छैन । संसदीय अभ्यास नै गरेको छैन’, रावलले भने, ‘विषयगत समितिलाई पूर्णता दिएको छैन । सरकार बेतिथि र भ्रष्टाचारमा लिप्छ । विचौलियातन्त्र मौलाएको छ ।’

पत्रकार सम्मेलनमा अर्का प्रदेशसभा सदस्य धर्मराज पाठकले सरकारले नै प्रदेशसभामा भोटे ताल्चा लगाएको बताए । ‘यो सरकारले प्रदेशसभमा भोटे ताल्चा लगाएको छ । एक वर्षसम्म कुनै बिजनेस दिन सकेको छैन’, पाठकले भने, ‘सरकारको अकर्मण्यता कारण प्रदेश सभा पनि सुस्त भएको छ ।’

सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले समेत सरकारकै कारण प्रदेशसभा गतिशील हुन नसकेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले एक वर्षे कार्यकालमा एउटा पनि कानुन निर्माण गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

चौधरीले भने, ‘पटक–पटक झक्झक्याउँदा समेत सरकारले वास्ता नगरेकाले यो स्थिति आएको हो । प्रदेशसभालाई सरकारले कुनै महत्व नदिएको महसुस गरेका छौं ।’

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश रावलले प्रदेशसभाको एक वर्षको अवधि सन्तोषजनक भएको टिप्पणी गरे । ‘हाम्रो एक वर्षको अवधि राम्रै बित्यो जस्तो लाग्छ । यसअघि बनेका कानुन कार्यान्वयनमा गएपछि संशोधन गर्ने, नयाँ कानुन बनाउने जस्ता कुरा आउने थिए,’ रावलले भने, ‘तर त्यो भएको छैन ।’

संघीय सरकारले अधिकार दिएन : मन्त्री भट्ट

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले भने कानुन निर्माण हुन नसक्नुमा संघीय सरकारले अधिकार नदिनुसँग जोडेका छन् ।

‘संविधानले प्रदेशलाई दिएको अधिकार नपाएका कारण हामीलाई समस्या भएको हो । संविधानसम्मत अधिकार त पाउनुपर्‍यो नि’, भट्टले भने, ‘अघिल्लो सरकारले बनाएका निजामती ऐन, प्रदेश प्रहरी ऐन जस्ता थुप्रै कानुन कार्यान्वयन हुन सकेको छैन । नयाँ कानुन बनाएर के गर्नुहुन्छ ?’

नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता नभएकाले पनि यो अवधिमा प्रदेशसभामा कुनै विधेयक दर्ता नभएको उनको दाबी छ । तर अब सुरु हुने हिउँदे अधिवेशनमा भने कम्तीमा पनि ८ वटा विधेयक दर्ता गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको भट्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार