शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको खाद्य संस्थानमा नयाँ हाकिम पुगे, चामल पुगेन

बाजुराको खाद्य संस्थानमा नयाँ हाकिम पुगे, चामल पुगेन

महंगीको मारमा बाजुराबासी

  • सोमवार, पुस २, २०८०
बाजुराको खाद्य संस्थानमा नयाँ हाकिम पुगे, चामल पुगेन

टेक बहादुर बुढा, बाजुरा —बाजुराको सदरमुकाम मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल सकिएको चार महिना बितेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा याँहाका नागरिकहरु महंगीको मारमा परेका छन ।

सस्तो मुल्य पर्ने मोटा चामल सकिएको चार महिना भन्दा बढि बितिसक्दा समेत चामल ल्याउन नसकेको भन्दै सर्वसाधारणले सरोकारवाला तथा सम्बन्धित निकायको चर्को आलोचना गरिरहेका छन । सर्वसाधारण नागरिकले खाने माेटा चामल सकिएपछि असोज ६ गते पहिलो चरणमा र त्यसपछि पटक पटक मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ५ सय कुईन्टल चामल पुगेको थियो ।

तर उक्त चामल बजारको भन्दा निकै महंगो जिरा मसिनो चामल आएपछि याँहाका धेरैजसो नागरिकले सो जिरा चामल किन्नै छाडेको बताएका छन । उक्त जिरा चामल हालसम्म प्रति किलो ९२ रुपैयाँमा बिक्री भइरहेको छ भने सोहि चामल बजारमा ९५ रुपैयाँमा पाइने गरेको छ ।

याँहाका नागरिकका लागि माेटा चामल भए सस्तो पर्ने थियो तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालयमै मोटा चामल नभएपछि जिरा चामल पठाएको कार्यालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका तत्कालीन प्रमुख मेखराज ओझाको सरुवा पछि हाल कार्यालय प्रमुखको रुपमा उमेश भण्डारी आएका छन । कार्यालयमा नयाँ हाकिम पुगे पनि सर्वसाधारण नागरिकले किन्न सक्ने चामल नपुगेको भन्दै जनप्रतिनिधिदेखि सांसदहरुको चर्को आलोचना गरिरहेका छन ।

यस बिषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख भण्डारीले भने मोटा चामल खरिद प्रक्रियामै रहेकाले फागुन महिनासम्म आइपुग्ने बताएका छन ।

मार्तडीमा अहिले २ सय ९६ क्विन्टल जिरा मसिनो चामल रहेको छ भने कोल्टीमा १ सय ८० क्विन्टल जिरा चामल नै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । मार्तडी र कोल्टीमा सर्वसाधारणले सहजै किनेर खान नसक्ने जिरा मसिनो चामल प्रशस्त भएपनि अन्य बिक्री केन्द्र तथा डिपोका गोदाम भने रित्तै रहेका स्थानियहरुले बताएका छन ।

हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियाे भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा  गत आर्थिक बर्षको ५ सय कुन्टल चामल गत जेठ महिनामै सकिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार