बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • ‘मिसन ८४’ जनताको, नेपाल र नेपालीको मिसन ८४ हो : अध्यक्ष ओली

‘मिसन ८४’ जनताको, नेपाल र नेपालीको मिसन ८४ हो : अध्यक्ष ओली

  • बिहिबार, मंसिर २८, २०८०
‘मिसन ८४’ जनताको, नेपाल र नेपालीको मिसन ८४ हो : अध्यक्ष ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बलियो राष्ट्रिय शक्ति निर्माण नभई देशको विकास हुन नसक्ने बताएका छन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को क्रममा बिहीबार भोजपुरको पौवादुङ्मा गाउँपालिका-२ को तिवारीभञ्ज्याङमा आयोजित सभामा उनले राष्ट्रिय शक्ति मजबुत नभई देशमा सुशासन कायम हुन नसक्ने दाबी गरेका हुन्।

‘हामीले परिकल्पना गरे समृद्ध नेपाल, सुखी नेपाली हो । यो बनाउने सन्दर्भमा हामीले मिसन ८४ भनेका हौं। मिसन ८४ जनताको मिसन ८४ हो ।’ओलीले भने,‘नेकपा एमालेले प्रतिनिधित्व गरेको हो तर मिसन ८४ नेपाल र नेपालीको मिसन ८४ हो। जहाँसुकै बस्ने, जुनसुकै पेशा, व्यवसाय, जात, धर्म, संस्कृति मान्ने जनताको पनि मिसन ८४ हो।’

उनले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर एमालेलाई सरकारबाट बलजफ्ती हटाएपछि देशको अवस्था नाजुक हुँदै गएको बताए। ओलीले नेपाली कांग्रेसका नेताहरु नै अहिलेको सरकार देखेर आजित भइसकेको टिप्पणी गरे। ओलीले भने,‘राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दु:ख पाएको देखेर सबैमा एउटा चिन्ता छाउने स्थिति बनेको छ।’

उनले यो अवस्था देखेर समृद्ध नेपाल, सुखी नेपालीको बनाउन एमाले मिसन ८४ मा होमिएको उनको भनाई छ। उनले अहिलेको सरकार आफ्नै अयोग्यताले ८४ सालसम्म टिक्न सक्ने अवस्थामा भएको दाबी गरे। ‘देशबाट यो सरकार असफल भइसकेको छ’ओलीले भने ।

उनले एमालेको नेतृत्वको सरकारको पालामा विकास निर्माणमा असाधारण प्रगति गरेको बताए। उनले कृषि उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको समेत बताए। उनले भने, ‘कृषिमा आधुनिकीकरण गरेर अगाडि बढ्नुपर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ।’

एमालेको संकल्प यात्रा आज १५ औं दिनमा पुगेको छ। मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिका लागि संकल्प यात्रामा छन्।

चर्चामा

सम्बन्धित समाचार