फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको छ । ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरे । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरे ।
८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमै यथावत छ । ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो ।
हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ । छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३-० ले तथा कोलम्बियाले पाराग्वे र इक्वेडरले चिलीलाई समान १-० ले हरायो ।
जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ । इक्वेडरको ८ अंक जोडेर पाँचौ स्थानमा छ ।