• होमपेज
  • प्रदेश ७
  • विद्युत बिल नतिर्ने सुदूरपश्चिमका एक हजार बढी उपभोक्ताको लाइन काटियो

विद्युत बिल नतिर्ने सुदूरपश्चिमका एक हजार बढी उपभोक्ताको लाइन काटियो

  • आइतवार, कार्तिक २६, २०८०
विद्युत बिल नतिर्ने सुदूरपश्चिमका एक हजार बढी उपभोक्ताको लाइन काटियो

धनगढी—नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय मातहतका केन्द्रहरुले समयमै विद्युत् महसुल नतिर्ने एक हजार ३४२ ग्राहकको लाइन काटेका छन्।

गत कात्तिक १२ गतेबाट विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा एक हजार ३४२ ग्राहकको लाइन काटेको हो। लाइन काटिएका ग्राहकको बक्यौता रकम २ करोड ३७ लाख रुपैयाँ छ। असूलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरुको धमाधम लाइन काटिरहेका छन्।

प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने जनाएको छ। विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ।

मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ। यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार