सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोट भुकम्पः भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात

जाजरकोट भुकम्पः भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात

  • मङ्लबार, कार्तिक २१, २०८०
जाजरकोट भुकम्पः भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात

जाजरकोट —भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा सुतिरहेकी थिइन् ।

एक्कासी घर हल्लिन थालेपछि हतपत्त उठेर आफ्नो श्रीमान भीम बहादुर घर्ती (७८) लाई उठाइन् । आँखा नदेख्ने उनी श्रीमानको सहारामा भागेर ज्यान जोगाउन सफल भइन् । ‘अलिकती बाहिर के आएको थिएँ, गर्ल्याम्म घर ढलेको आवाज आयो । छोरा-बुहारीलाई आवाज दिएँ, सबै भागेर बाँच्न सफल भए,’ भूकम्प गएको रात सम्झिंदै उनी भन्छिन् ।

पालिकामै थुप्रियो राहत, खुला आकाशमुनि रात काट्छन् पीडित
शुकबार गएको भूकम्पले घर ढलेको आज चार दिन भयो । घर भत्किएपछि उनको ९ जनाको परिवार घर नजिकैको प्रतिक्षालयमा बसेको छ । त्रिपाल नभएकै कारण प्रतिक्षालयमा बसेको बिर्मीले बताइन् । ‘पाल पनि छैन, पाल किन्ने पैसा पनि छैन । पाल हुनेहरु खुल्ला चौरमा पाल हालेर बसेका छन्, हामी केही उपाय नलागेपछि यही चौतारोमा बसेका हौं,’  बिर्मीले भनिन्, ‘अहिले पनि भूकम्प गइरहेको छ । यही चौतारो पनि भत्किन्छ कि भन्ने डर लाग्छ ।’

घर भत्किएपछि लत्ताकपडा र खाद्यान्न पुरिएको छ । चिसो भुइँमा रात बिताइरहेका उनीहरु अहिलेसम्म एउटा त्रिपाल समेत नपाएको बताउँछन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छँदैछ, त्यसमा पनि खाने कुराको अभाव छ । ‘गाउँलेले दिएको घोगा (मकै)को पिठो र जंगलबाट सिस्नु ल्याएर हिजो दिउँसो खायौं । त्यो पनि सकियो । हिजोको रात भोकै सुत्यौं । आज के खाने हो थाहा छैन,’ भीम बहादुर भन्छन् ।

सोही बस्तीकी धनकला पुन (३०) को परिवार पनि घर अगाडि बारीको पाटोमा पुरानो पाल हालेर बसेको छ । त्यही सानो पाल मुनि उनका दुई छोराछोरी र श्रीमान सहित चार जनाको परिवारले रात काट्दै आएको छ ।

भूकम्पले घर भत्किएपछि सबै लत्ताकपडा त्यहीँ पुरियो । ‘हिजो आर्मीहरु आएका थिए, अलिकती भएको आलु पुरिएको थियो । एकबोरा निकाल्दिनुभयो र त्यही खाएर रात बितायौं । त्यसपछि के खाने कुनै टुंगो छैन,’  धनकलाले भनिन् ।

अहिलेसम्म सरकारको तर्फबाट कोही राहत नआएको भन्दै उनी दुःखी छिन् । ‘सरकारले राहत दिने भनेको मात्र सुन्छु । तर कहिले दिने हो थाहा छैन’, उनले भनिन्, ‘प्रहरीले नाम टिपेर त लगेका छन् । तर अहिलेसम्म पाल समेत पाएका छैनौं । बालबच्चा भात, रोटा (रोटी) माग्छन् । भएको अलिकति आलु समेत सकिन लागिसक्यो । यी बालबच्चालाई के खुवाउने हो थाहा छैन ।’

शुक्रबार राति रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले यहाँका सबैजसो घर क्षतविक्षत भएका छन् । स्वास्थ्य चौकी र विद्यालय भवन पनि बाँकी रहेनन् ।

तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा मानवीय क्षति भने भएको छैन । तर गाउँमा सग्ला घरहरु पनि छैनन् । सिर्पाचौर बस्तीमा भूकम्पबाट ७ जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार